शिक्षाको वास्तविकता र आवश्यकता

शिक्षा जीवनको अभिन्न हिस्सा हो। शिक्षा बिना जीवन अध्यारो हुन्छ — किनभने विद्याबाट नै प्रकाश प्राप्त हुन्छ।

जसरी किसानले कृषि अघि कस्तो बिउ कहिले रोप्ने भनेर सोच्दछ, त्यसरी नै सम्पुर्णले शिक्षाको वास्तविक आधारस्तम्भ के हो भन्ने बुझ्नुपर्छ। आजको शिक्षाले आफ्नै पहिचान हराएको छ — देशको माटोले के भनिरहेको छ, देशको भावना र आवश्यकताले कस्तो शिक्षा मागेको छ भन्ने कुरामा हामी मौन छौँ।

आजको समय शिक्षाको क्षेत्रमा एउटा गम्भीर समस्या देखिएको छ — विद्यार्थीहरूमा पाठ्यक्रमप्रति वितृष्णा बढ्दै गएको छ। यो समस्याले समाजका विद्यार्थी वर्गहरूलाई असन्तुलित र उग्र बनाउँदै लगेको छ।
विद्यार्थीलाई  कस्तो शिक्षा उनीहरूको जीवनउपयोगी हो, र एक्काइसौँ शताब्दीको समाजमा बाँच्नका लागि कस्तो उच्च शिक्षा आवश्यक छ भन्ने विषयमा उनीहरू अनभिज्ञ छन्। किनभने उनीहरूको अपिल र अपेक्षाअनुसार शिक्षा प्रणालीमा गरिएका परिवर्तनहरू केवल संशोधन र रूप-सज्जासम्म सीमित छन—मूल सुधारसम्म पुगेका छैनन्।

अब प्रश्न उठ्छ — शिक्षालाई गुणस्तरीय बनाउन के गर्न सकिन्छ?
भविष्यको बाटो देखाउने गुरुहरू स्वयं दिग्भ्रममा परेपछि के विद्यालयहरू नै बन्द गर्नुपर्ने अवस्था आउँछ ?

शिक्षा क्षेत्रका समस्याबारे अनगिन्ती लेख, बहस र विमर्श भइरहेका छन्। तर ती अधिकांश केवल नीतिगत सुधार र संशोधनका दायरामा मात्र छन्। अब भने शिक्षा प्रणालीमा आमूल परिवर्तनबारे सोच्न आवश्यक भएको छ। शिक्षाविद्हरूले के परिवर्तन गर्ने भन्ने होइन, किन र कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने समय आएको छ।

हामीलाई आइन्स्टाइन, पाउलो फ्रेरे जस्ता विदेशी आदर्शहरूका बारेमा पढाइन्छ, तर आफ्ना भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, मदन भण्डारी, शंकर लामिछाने जस्ता राष्ट्रप्रेमी रचनाकार, शिक्षाविद् वा राजनीतिज्ञका आदर्श सिकाइँदैनन्। विद्यार्थीहरूलाई आफ्नै देशमा बसेर रोजगारी सृजना गर्ने, समाजसेवा गर्ने र देशको विकासमा योगदान पुर्‍याउने शिक्षा सिकाइँदैन। यही कारण धेरै युवाहरू वैदेशिक शिक्षातर्फ आकर्षित भएका छन्।

आर्थिक वर्ष २०२३ र २०२४ मा मात्र १ लाख १० हजारभन्दा बढी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC) प्राप्त गरेका थिए। यो तथ्याङ्कले शिक्षा र देशप्रति लगाव घट्दै गएको स्पष्ट देखाउँछ। वार्षिक रूपमा हजारौँ विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्। विद्यार्थीहरूले अब अरूसँग प्रतिस्पर्धा होइन, आफू स्वयंसँग प्रतिस्पर्धा गर्न सिक्नुपर्छ। शिक्षा मातृभूमिसँग जोडिनुपर्छ।

साँचो शिक्षा त्यो हो —
जसले आत्मविश्वास र अभय दिन्छ,
इतिहास बुझाउँछ,
सामाजिक चेत जगाउँछ,
सद्भाव र समरसता कायम गर्छ।
अबको शिक्षा नीति देशको माटो सुहाउने हुनुपर्छ।
शिक्षा बाटो देखाउने, आविष्कार सिकाउने र स्वदेशप्रेम जगाउने हुनुपर्छ।
विद्यालयका भवनहरू ठूला मात्र होइन, दीक्षा दिने गुरुहरू सक्षम र प्रेरणादायी हुनुपर्छ।
राजनीतिक भागबण्डाले होइन, योग्यता र इमानदारीले शिक्षक र उपकुलपति चयन हुनुपर्छ।
शिक्षकहरू इतिहास, अर्थतन्त्र, विज्ञान र गणितमा अब्बल हुनुपर्छ —
त्यसपछि मात्र शिक्षा जगतमा वास्तविक सुधार सम्भव हुन्छ।

✍️ सुनिता घिमिरे
लेखकस् स्नातकोत्तर तहमा अध्ययनरत छात्रा तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हुन्।

Share