घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सवमा हाटबजार आएका सवारीसाधनबाट समेत पार्किङ शुल्क 

सुखड । घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सवमा पार्किङका नाममा हाटबजार आएका व्यक्तिबाट समेत शुल्क असुल गरिएको छ। हिजो शुक्रबारबाट कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सञ्चालनमा आएको छ। महोत्सव स्थलमा पार्किङ क्षेत्र छुट्याइ महोत्सव अवलोकनका लागि आएको व्यक्तिबाट पार्किङ शुल्क लिनु पर्ने हो। तर, आज शनिबार सुखड बजारको हाटबजार क्षेत्रमा तरकारी तथा फलफूल किन्न आएका व्यक्तिबाट समेत महोत्सव आयोजकले पार्किङ शुल्क असुलेको छ। 

हाटबजारमा तरकारी तथा फलफूल खरिदका लागि आएका व्यक्तिबाट पार्किङ शुल्क लिइरहेको पाइएको छ । ‘पार्किङ क्षेत्र’ र ‘शुल्क विवरण’काे सूचना नटाँसेरै  हाटबजार आएका व्यक्तिका सवारी साधनबाट पार्किङ शुल्क उठाउँदै गर्दा हाम्रो खबरदारी पश्चात शुल्क सहितको विवरण लगाइयो । उक्त स्थनमा महोत्सव आयोजकले साइकलका लागि २० र मोटरसाइकलका लागि ४० रूपैँया पार्किङ शुल्क तोकेको छ ।

हाटबजार आएका सेवाग्राहीबाट समेत पार्किङ शुल्क लिन थालिएपछि स्थानीय आक्रोशित बनेका छन्। उता हाटबजार क्षेत्रमा प्रवेशका लागि महोत्सव आयोजकले आवागमनकाे बाटो समेत बन्द गरेको भन्दै गुनासो गर्दा पार्किङ शुल्क असुल्न खटिएका किरण क्षेत्रीले आफूमाथि हातपात गर्न आएको हाटबजारका तरकारी तथा फलफुल व्यावसायीले बताएका छन्। किरणले भने हाटबजारका फलफूल तथा तरकारी व्यापारीले महाेत्सव स्थलमा घेराबार गरिएकाे डाेरी चुँडालिदिए पछि प्रतिकार गरेकाे र कसै माथि हातपात नगरेकाे बताए ।

हरेक साता शनिबार र मङ्गलबार सुखड बजार क्षेत्रको खुला स्थानमा हाटबजार सञ्चालन हुँदै आएको छ। तर बेला बखत हुने महोत्सव तथा राजनीतिक कार्यक्रमले हाटबजार क्षेत्रलाई प्रभावित पार्ने गरेको छ। महोत्सव आयोजक घोडाघोडी सामाजिक सरोकार केन्द्र र हाटबजार सञ्चालक बिच समन्वय अभावमा स्थानीय सेवाग्राहीले सास्ती भोग्नु परेको छ। 

 

Share