सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव र वरिष्ठ पत्रकार एवं लेखक नारायण वाग्ले सुखड आउने भएका छन् । घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागको आयोजनामा यही जेठ २ र ३ गते हुन लागेको ‘एकडेमिया इन्डष्ट्रि डाइलग’ कार्यक्रममा सहभागिता जनाउन उनीहरू सुखड आउन लागेका हुन् । दुई दिन सञ्चालन हुने कार्यक्रमको उद्घाटन शुक्रबार सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले गर्ने जनाइएको छ ।
कार्यक्रममा महासचिव विप्लव र वरिष्ठ पत्रकार एवं लेखक वाग्लेका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टर डा. यज्ञराज पाठक, उद्यमी एवं किंस कलेजका संस्थापक नरोत्तम अर्याल, टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. जगत बहादुर सिंह रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल र घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दीपकराज जोशी एवं सहप्राध्यापक छेमानन्द जोशीको समेत विभिन्न विषयमा प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा विभिन्न क्याम्पसका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूको उपस्थितिका साथै प्रा. तोयाराज भट्ट, कृषि उद्यमी कालु हमाल, पर्यटन व्यावसायी डबल शाह, नृप कुँवर लगायतको अनुभव आदान प्रदान समेत रहने छ । घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा बिहान ७ बजे देखि कार्यक्रम प्रारम्भ हुने घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभाग प्रमुख प्रा. डा. दीपक राज जोशीले जानकारी दिएका छन् ।












