बडीकेदार धार्मिक क्षेत्रमा एक सय आठ शिवलिङ्ग सहित स्वस्तिक निर्माण हुने

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बडीकेदारमा एक सय आठ ओटा शिवलिङ्ग सहितको स्वस्तिक निर्माण गरिने भएको छ ।

डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नं. ५ मा अवस्थित उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका निमित्त शिवलिङ्ग सहित स्वस्तिक निर्माण गर्ने अभियान सञ्चालन गरिएको बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्र सिराडीले जानकारी दिए । उनले यो अभियान आफूले सञ्चालन गरेको र यसमा स्वइच्छाले चन्दादाताले चन्दा दान गरी सहयोग गर्न सक्ने जनाए । मङ्गलबारदेखि सुरु गरेको अभियानलाई आम चन्दादाताले पनि निकै साथ दिएको र हाल सम्म ८३ जनाले आफूले सहयोग गर्ने भन्दै नाम टिपोट गरी सकेका पनि सिराडीले बताए ।

एक जनाले न्यूनतम एक ओटा शिवलिङ्ग बराबर सहयोग गर्ने छन् । एउटा शिवलिङ्ग निर्माण गर्दा तीन हजार सम्म खर्च हुने जनाइएको छ । कम्तीमा पनि तीन लाख २४ हजारसम्म चन्दा सङ्कलन हुने अनुमान गरिएको छ । शिवलिङ्ग भने मूर्तिकारलाई बनाऊ लगाई सकेको बताए । मूर्तिकारले एउटा शिवलिङ्ग निर्माण गरे बापत तीन हजारसम्म लिने भएकाले सोही अनुसार आफूहरूले चन्दा दातालाई सहयोगको अपिल गरेको जानकारी दिए । चन्दा सङ्कलनका लागि एक सय आठ जना पुग्ने बित्तिकै चन्दा सङ्कलन सुरु गरी कार्य अगाडि बढाइने छ । यस्ता कार्यले धार्मिक तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने सिराडीको विश्वास छ ।

यस धार्मिक तथा पर्यटकीय क्षेत्रमा वर्षको दुई पटक कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपाल मात्र नभई भारत लगायत तेस्रो मुलुकबाट समेत भक्तजन त्यहाँ पुग्ने गरेका छन् ।

Share