पुर्ख्यौली पेसा संकटमा परेपछि परिवार पाल्न भारतको भर

धनगढी । ७० वर्षको उमेरमा पनि राजाराम कुमालका हात माटोमा जादु चलाउन छाड्दैनन् । कैलालीको कैलारी गाउँपालिका–५, बन्दरगौरीका राजारामको माटोसँग ५२ वर्षको सम्बन्ध छ । राजारामले यो सीप आफ्ना बुबा र बाजेबाट सिकेका हुन् । १५ वर्षको कलिलो उमेरदेखि नै उनले माटोलाई आकार दिन थालेका थिए ।

‘त्यो बेला स्कुल गइएन, दिनभरि बुवासँगै बसेर भाँडा बनाउन सिकियो,’ उनी सम्झिन्छन्, ‘त्यही सीपले आजसम्म जीवन धानेको छ । पुर्खाहरूले सुरु गरेको यो कामलाई निरन्तरता दिन पाउँदा उनी गर्व महसुस गर्छन् । ‘हाम्रो बुवाले गरे, बाजेले गरे, पुर्खाहरूले गरेको कामलाई मैले पनि गर्दै आएको छु,’ उनी भन्छन् ।

समय बदलियो । राजारामको दैनिकी भने बदलिएको छैन । हिजो जस्तै आज पनि उनी उही जोस र जाँगरका साथ माटोका भाँडा बनाउन लागिरेहका हुन्छन् । बजार भने पहिलेको जस्तो छैन । प्लास्टिक, फलाम, सिल्भर, पित्तल, तामा, सिमेन्ट लगायत रंगीचंगी आकर्षक सामानको आगमनले माटोका भाँडाहरूको माग ह्वात्तै घटाएको छ ।

राजाराम आफ्नो पेसालाई कहिल्यै नछोड्ने अठोटमा छन् । ‘सबै साथीले यो काम छाडिसके पुर्खाको सीपलाई छाड्न मेरो मनले पटक्कै मान्दैन,’ उनी भन्छन् ।

माटोको भाँडा बनाउने प्रक्रिया निकै लामो छ । धेरै मेहनत गर्नुपर्छ । राजाराम हरेक वर्षको फागुन महिनामा भाँडा बनाउन चाहिने माटो लिन नजिकैको सामुदायिक वन जान्छन् । यसका लागि उनले वनसँग अनुमति लिनुपर्छ र ३०० रुपैयाँ शुल्क पनि तिर्नुपर्छ ।

श्रीमती, छोरा र बुहारीको सहयोगमा उनी भाँडाका लागि उपयुक्त रातो माटो खोज्छन् । सही ठाउँ भेटिएपछि १५ देखि २० दिन लगाएर माटो खनिन्छ र गोरुगाडामा हालेर घर ल्याइन्छ । घर ल्याएपछि सुरु हुन्छ,  माटोलाई भाँडा बनाउन योग्य बनाउने असली मेहनत ।

‘घर ल्याएको माटोलाई कोदालोले सानो–सानो टुक्रा बनाउँछौं, अनि पानी हालेर दुई–तीन दिनसम्म लगातार खुट्टाले फिट्छौं,’ उनी सुनाउँछन् ।

यसरी फिट्दै जाँदा माटो गिलो र लचिलो हुन्छ । त्यसपछि त्यसलाई केही समय सुकाएर पिठो मुछेजस्तै गरी हातले मुछिन्छ । जब माटो पूर्ण रूपमा तयार हुन्छ, तब त्यसलाई साँचो (चक्र) मा राखेर विभिन्न आकारका भाँडाहरू बनाइन्छ ।

राजाराम दैनिक ५० देखि ६० वटासम्म भाँडा बनाउँछन् । उनले बनाएका रासी, करुवा, गाग्री, दियो, गमला जस्ता भाँडाहरू घरको आँगन र छुट्टै बनाएको काठको टहरोमा सुकाएर राखिएका छन् । बनेका भाँडालाई काठको मुङ्ग्रोले पिटेर बलियो बनाइन्छ र अन्त्यमा पराल र दाउराको आगोमा पकाइन्छ । यो सबै प्रक्रिया निकै खर्चिलो र समय लाग्ने खालको छ ।

Mataka Bhanda1

राजाराम आफ्नो उत्पादन धनगढी, हसुलियाजस्ता बजारमा गोरुगाडामा लगेर बेच्छन् । कोही–कोही घरमै पनि किन्न आउँछन् । भाँडाको आकार हेरी ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । गाउँघरमा उनी धान, घिउ र दालसँग पनि भाँडा साट्ने गर्छन् ।

‘धेरै मेहनत गर्नुपर्छ, प्रशस्त आम्दानी नभए पनि घरखर्च चलाउन सजिलो भएको छ,’ उनी भन्छन् ।

राजारामको जस्तो सन्तुष्टि सबै कुमाल परिवारमा छैन । अहिले पुर्ख्यौली पेसा संकट परेपछि परिवार पाल्न भारतको भर पर्नुपरेको कैलारीका स्थानीयको गुनासो छ ।
बन्दरगौरी गाउँमा कुनै बेला २६ घरधुरीले माटोका भाँडा बनाउने काम गर्थे । स्थानीय मनिराम कुमालका अनुसार आज यो संख्या घटेर थोरैमा सीमित भएको छ । धेरैजसो यो पेसा छाडेर रोजगारीका लागि भारत पलायन भएका छन् ।

‘एउटा त भाँडा बनाउँदा फुट्ने डर, अर्को बिक्री नै नहुने समस्या,’ उनी भन्छन्, ‘बजारमा प्लास्टिकका भाँडाकुँडा आएपछि हाम्रो उत्पादन बिक्न छाड्यो । माटोको गाग्रीको सट्टा प्लास्टिकको बाल्टिन र माटोको गमलाको ठाउँमा सिमेन्टको गमला प्रयोग हुन थालेपछि हाम्रो सीप संकटमा पर्‍यो ।’ मनिराम आफैंले पनि यो काम छाडेर पसल थापेका छन् ।

स्थानीय कंङली कुमालका अनुसार पहिले माटोका भाँडाको निकै महत्व थियो । बिक्री पनि राम्रो हुन्थ्यो । घैँटोको पानी स्वास्थ्यका लागि राम्रो मानिने हुँदा हरेक घरमा माटोको गाग्री अनिवार्य हुन्थ्यो । त्यतिबेला माटो, दाउरा र परालजस्ता आवश्यक सामग्री निःशुल्क पाइन्थ्यो । अहिले भने सबै कुरा किन्नुपर्दा लागत बढेको छ ।

‘मेहनत धेरै, बिक्री कम भएपछि धेरै परिवारले यो पेसा छाडेर भारत जानुपरेको हो,’ उनी भन्छिन् ।

यो पुर्ख्यौली पेसालाई जोगाउन र व्यवसायीकरण गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

‘हामीले आफ्नो पेसालाई बजारसँग जोड्न र प्रचारप्रसार गर्न वडा अध्यक्षसँग कुरा गरेका थियौं, उहाँले मुख्यमन्त्रीसँग कुरा गर्नु भन्नुभयो,’ कंङलीले भनिन्।

अहिले कुमाल समुदायको आफ्नो सीप र कलाले भविष्यमा कुन मोड लेला भन्न सकिने अवस्था छैन । पुर्ख्यौली सीप संकटमा परेपछि परिवार पाल्न भारत पसेहरु बढेपछि अहिले गाउँ सुनसान छ । बाहिरबाट आयातीत सामानले आफूहरुको रोजीरोटी समेत संकटमा परेको उनीहरुको गुनासो छ ।

साभार: राताेपाटि

Share