कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेको सरकार तानाशाही भएको बताउनु भएको छ । सदनले कानुन बनाउनु पर्नेमा सरकारले आफैले कानुन बनाउने, आफैले लागू गर्ने र आफैले नियमन गर्दै त्यसको व्याख्या आफैं गरिरहेको तर्क गर्नुभयो ।
आईतबार नगर अधिवेशनलाई सम्बोधन गर्न कैलालीको घोडाघोडी पुगेकी पूर्व शिक्षामन्त्री श्रेष्ठले अहिलेको सरकार आलोचना सहन नसक्ने भएकाले तानाशाही बन्दै सामाजिक सञ्जालमा अङ्कुश लगाएको बताएकी छन् । “अहिलेको सरकारले सामाजिक सञ्जाललाई बन्द गरिदिएको छ, आफूहरु भ्रष्टाचारमा लिप्त भएका छन् युवाहरुले त्यसको चर्को आलोचना गरिरहेका छन्, सोही कुरा सुन्न नसकेर बन्द गरिदिए,” श्रेष्ठले भन्नुभयो, “अहिलेको सरकारले मेटा कम्पनीसँग एउटा सर्त राख्यो जुन हामीले जे जे भन्छौं त्यही मान्नुपर्छ भनेर, तर त्यो कुरा मेटाले अस्वीकार त्यसपछि बन्द गरिदिए । सर्तमा चाहिँ आफूले गरेका भ्रष्टाचारका मेटाउने उद्देश्य राखेको थियो ।”
कुनै पनि नेपालीले तानाशाही सरकार र व्यवस्था नचाहेको भएपनि अहिले त्यस्तै भइरहेको उहाँले तर्क गर्नुभयो । स्थानीय तहको निर्वाचन आउन थोरै समय रहेको र अहिले निर्वाचित जनप्रतिनिधिले पूर्ण बजेट ल्याउन अर्को पटक नपाउने भएकाले चुनाव केन्द्रित हुन र स्थानीय तहमा गर्ने काम कारवाहीको बारेमा पनि विज्ञसँग सल्लाह सुझाब लिन पार्टी पङ्क्तिका नेता कार्यकर्तालाई सुझाउनु भएको हो । “जित्नु मात्रै ठुलो कुरा त हैन तर नजिती नहुने परिस्थिति बनेकाले तपाईंहरू परिवर्तनको लागि भए पनि निर्वाचनका लागि तयारी गर्नुहोस त्यति मात्रै होइन जितेर गर्ने काम कारवाहीको बारेमा पनि विज्ञसँग सल्लाह लिनुस्,” उहाँले भन्नुभयो, “जनताले तानाशाही स्थानीय सरकार चाहेका छैनन् त्यही भएर आफ्नो स्थानीय कसरी राम्रो बनाउने हो, सबैको विचार आस्थालाई कसरी हुन्छ मिलाएर हो र विधि विधानमा चल्ने हो तर विधिविधान आफूलाई मात्रै पाएका पर्ने अरूलाई नपर्ने होइन विधिविधान चाहिँ सबैले हेर्दा प्रथम दृष्टिमा यो चाहिँ समान छ है भनेर महसुस गर्ने हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले आफ्नो पार्टीमाथि सरकारबाटै सदनमै आक्रमण हुने सक्ने स्थिति आइरहेको समेत बताउनु भएको छ । अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको समेत उहाँले आरोप लगाउनु भयो ।













