सम्झौताको ४ वर्ष बित्दा समेत सडक कालोपत्रे नभएपछि स्थानीयद्वारा नगरपालिकामा तालाबन्दी

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । सम्झौता गरेको ४ वर्ष बित्दा समेत ठेकेदारले सडक कालोपत्रे नगरेको र नगर सरकारले पनि त्यसलाई गम्भिरता पूर्वक नलिएको भन्दै तालाबन्दी गरिएको हो ।

घोडाघोडी नगरपालिका वडा नं ५ का स्थानीयले आज डोकेबजार देखि नगरपालिकासम्म विरोध र्याली निकालेका थिए । कोण सभामा परिणत भएको र्यालीले पालिकामा तालाबन्दी गरेको हो । सडक कालोपत्रे गर्न सुरू नगरेसम्म ताला नखोल्ने चेतावनी समेत आन्दोलित स्थानीयले दिएका छन् । वडा नं ५ डोके बजारदेखि देउकलियासम्मको सडक सम्झौता भएर पनि कालोपत्रे नगरिएको प्रति स्थानीयले बेला बेला साङ्केतिक विरोध गर्दै आएका थिए । कहिले सडकमा धान रोपेर कहिले अन्य साङ्केतिक विरोध गरेर ठेकेदार र नगर सरकारको ध्यानाकर्षण गराई रहेका थिए । अन्ततः आज शान्तिपूर्ण प्रदर्शन गर्दै पालिकामा तालाबन्दी गरेका हुन् ।

सम्झौता गरेको लामो समय बित्दा पनि सडक कालोपत्रे नभएको र स्थानीय सरकारले पनि आफ्नो भूमिका निर्वाह नगरेकाले बाध्य भएर ताला लगाउनु परेको वडा नं ५ का निवर्तमान वडा अध्यक्ष प्रेम रोकायाले बताए । ठेकेदारले सडक कालोपत्रे गर्न सुरू गरेको दिन मात्रै नगरमा लागेको ताला आफूहरुले खोल्ने आन्दोलित स्थानीयले बताएका छन् । चाँडै सडक कालोपत्रे नभए भित्री सडकहरु बन्द गर्ने र यथाशिघ्र काम अगाडि नबढे पूर्व-पश्चिम राजमार्ग नै बन्द गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

निर्माण कम्पनी श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढी कैलालीले नगरपालिकासँग २०७८ माघ २३ गते नगरभित्रका चार वटा सडक संयुक्त रुपमा कालो पत्रे गर्ने भन्दै सम्झौता गरेको थियो । जसको निर्माण अवधि एक वर्ष मात्रै थियो । त्यस आधारमा हेर्दा कम्पनीले नगरपालिकासँग गरेको सम्झौता २०७९ माघ २३ गते सम्पन्न भइसकेको थियो । पछि नगरपालिकाले ६ महिना समयावधि थप गरिदियो । तर, साे समयमा समेत निर्माण कम्पनीले कुनै कार्य अगाडि बढाउन सकेन । त्यसपस्चात पटक पटक समय थप गर्ने कार्य मात्रै भयो । कार्यप्रगति शुन्यप्राय जस्तै रह्याे । सुरुवातमा हालेको ग्राभिल मात्रै हालसम्म सडकमा छ बाँकी कुनै प्रक्रिया ठेकेदार कम्पनीले अगाडि बढाउन सकेको छैन् । बारम्बार आफूहरुले भने पनि काम अगाडि नबढाएको तर आश्वासन मात्रै दिँदै आएको स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

उक्त कम्पनीले पालिकाभित्रका वडा नं. १ र ८ जोड्ने सुखड-लठुवा सडक, डोकेबजारदेखि वडा नं. ५ को देउकलियासम्मको सडक, वडा नं ४ को कार्यालयदेखि माघी होमस्टेसम्मको सडक र पूर्वपश्चिम राजमार्गदेखि डिभिजन वन कार्यालय हुँदै तुलसीपुर सामुदायिक वनको पूर्वपट्टि वडा नं. १० को सडक गरी चारवटै सडक कालोपत्रे गर्नका लागि श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चरले २ करोड ४१ लाख ३५ हजार १ सय ८५.४८ रुपैयाँमा सम्झौता गरेको थियो ।

सोही विषयमा स्थानीयहरुले गत शुक्रबार पनि प्रदर्शन गरेका थिए तर अन्ततः ठेकेदारलाई नगर प्रमुख खडक बहादुर रावतले आफ्नो कार्यकक्षमा बोलाएर तीन दिन भित्र काम सुचारु गर्न निर्देशन दिएका थिए । ठेकेदारले पनि स्थानीयहरुसँग अबको तीन दिन भित्र काम अगाडि बनाउने आश्वासन दिएको थियो तर आज ४ दिन बित्दा समेत कार्य अगाडि बढाउने कुनै सुरसार नगरेपछि स्थानीय तालाबन्दी गरेकाे हुन् ।

[videopack id=”8809″]https://raibaronline.com/wp-content/uploads/2025/05/VID-20250514-WA0010.mp4[/videopack]

ठेकेदार सिद्ध ओलीको मनपरी, घोडाघोडीमा चार सडक कालोपत्रेको काम अलपत्र