कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–२ मा रहेकाे श्री जनप्रकाश माध्यमिक विद्यालयलाई करिब ५० हजार रुपैयाँ बराबरका पुस्तक प्राप्त भएका छन् । विप्लव निकट विद्यार्थी सङ्गठनका नेता लाेकेश शीकाे पहलमा भारतीय दूतावास, काठमाडौंले विद्यालयलाई बिहीबार दर्जनौँ पुस्तक प्रदान गरेकाे हाे ।
जनप्रकाश माविका पूर्वविद्यार्थी समेत रहेका युवा नेता तथा सामाजिक अभियन्ता लोकेशको पहलमा भारतीय दूतावासबाट एसईई तयारी सामग्री, अंग्रेजी भाषा तथा व्याकरण, शब्दकोश, साहित्य, सामान्य ज्ञानलगायत विद्यार्थी तथा शिक्षकका लागि उपयोगी विभिन्न सन्दर्भ पुस्तक विद्यालयले प्राप्त गरेकाे हाे ।
बिहीबार विद्यालयका प्रधानध्यापक सुरेश थारूलाई उक्त पुस्तक हस्तान्तरण गरिएकाे हाे। विद्यालयको पुस्तकालयमा पुस्तक प्राप्त भएपछि विद्यालयका प्रधानाध्यापक सुरेश थारूले खुसी व्यक्त गर्दै भारतीय दुतावास र नेता लाेकेशलाई धन्यबाद ज्ञापन गरेका थिए । साथै उनले प्राप्त पुस्तकले ग्रामीण क्षेत्रका विद्यार्थी तथा शिक्षकको अध्ययन अध्यापनमा थप सहयोग पुग्ने समेत बताएका छन ।












