किसान कोप मार्टमा म्याद गुज्रिएको खाद्य सामग्री बिक्री

सुखड । कैलालीको सुडक बजारमा रहेको किसान कोप मार्टमा म्याद गुज्रिएको खाद्य सामग्री बिक्री वितरण भइरहेको पाइएको छ । मङ्गलबार मार्टमा राखिएको पार्ले ब्रान्डको ब्रिटानिया टप बिस्कुट म्याद गुज्रिएको बिक्री वितरण भइरहेको पाइएको हो । एक वर्ष अघि  प्याकिङ गरिएको उक्त  बिस्कुट  सेप्टेम्बर ४ तारिख अर्थात यही भदौ १९  गते म्याद सकिएको भएपनि मार्टले अझै सम्म पनि उक्त  बिस्कुट बिक्री गरिरहेको छ । 

किसान बहुउद्देश्यीय सहकारी संस्था लि. ले सञ्चालनमा ल्याएको किसान कोप मार्ट सुखड शाखामा यसरी म्याद गुज्रिएको बिस्कुट  बिक्री भइरहेको पाइएको हाे । तर मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने यस्ता मिति सकिएका खाद्य सामग्रीको बिक्री वितरण भइरहदा अनुगमन गर्ने निकाय भने त्यस बारे बेखबर छ  । मार्टका कर्मचारीसँग सो विषयमा सोधपुछ गर्दा झुक्किएर त्यस्तो म्याद गुज्रिएको बिस्कुट बिक्री भएको भन्दै आफूले त्यस्तो सामग्री बिक्री नगर्ने बताएका छन् ।

उपभोक्ताले सामान्यतया विश्वासका आधारमा कुनै सामग्री किन्दा मिति जाँच गर्ने गर्दैनन्। त्यसैको फाइदा उठाउँदै बजारमा म्याद गुज्रिएको सामग्री बिक्री बितरण गरिनु र अनुगमन गर्ने सरोकारवाला निकाय बेखबर हुनुले उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।

के छ कानुनी व्यवस्था ?

नेपालमा म्याद गुज्रिएको सामग्री बिक्रीवितरण गर्नु कानुनी रूपमा निषेधित छ। विशेषगरी खाद्य सामग्रीका हकमा लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मुख्य कानुनको रूपमा रहेको छ । जस अनुसार म्याद गुज्रिएको खाद्य सामग्री पसलमा बिक्रीका लागि राख्नु, बिक्री गर्नु वा उपभोगका लागि प्रयोग गर्नु कानुनी कारबाहीको विषय हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत पनि उपभोक्ताले गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार राख्छन् र वस्तुको मूल्य, परिमाण, शुद्धता तथा गुणस्तरबारे जानकारी पाउने अधिकार हुन्छ । यसका साथै नेपालको संविधानले समेत गुणस्तरीय सामग्री उपभोग गर्न पाउने हक मौलिक हकको रूपमा प्रत्याभूत गरेका छ ।