ठेकेदार सिद्ध ओलीको मनपरी, घोडाघोडीमा चार सडक कालोपत्रेको काम अलपत्र 

कालो पत्रे गर्ने सम्झौता गरी अलपत्र अवस्थामा पारिएको डोके बजारदेखि वडा नं. ५ को कार्यालयसम्म जोड्ने सडक

प्रेम ताडी/कैलाली

कैलालीको घोडाघोडीमा निर्माण कम्पनीका ठेकेदारको मनपरीले सम्झौता गरेको झण्डै तीन वर्ष बित्न लाग्दा पनि चार वटा सडक कालो पत्रेको काम अलपत्र अवस्थामा परेको छ ।

निर्माण कम्पनी श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढी कैलालीले घोडाघोडी  नगरपालिकासँग २०७८ माघ २३ गते नगरभित्रका चार वटा सडक संयुक्त रुपमा कालो पत्रे गर्ने भन्दै सम्झौता गरेको थियो । जसको निर्माण अवधि एक वर्ष मात्रै थियो । त्यस आधारमा हेर्ने हो भने कम्पनीले नगरपालिकासँग गरेको सम्झौता २०७९ माघ २३ गते सम्पन्न भइ सकेको थियो । पछि नगरपालिकाले ६ महिना समयावधि थप गरिदियो । तर समयावधि थप गरिदिँदा पनि निर्माण कम्पनीले कुनै कार्य अगाडि बढाउन सकेन । 

नगरपालिका भित्रका वडा नं. १ र ८ जोड्ने सुखड-लठुवा सडक, डोकेबजारदेखि वडा नं. ५ को कार्यालयसम्म जोड्ने सडक, महेन्द्र राजमार्गदेखि माघी होमस्टे जाने सडक वडा नं.४ र महेन्द्र राजमार्गदेखि डिभिजन वन कार्यालय हुँदै तुलसीपुर सामुदायिक वनको पूर्वपट्टि वडा नं. १० को सडक यी चारवटै सडक कालोपत्रे गर्नका लागि श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चरले २ करोड ४१ लाख ३५ हजार १ सय ८५.४८ रुपैयाँमा सम्झौता गरेको थियो ।

सम्झौता अवधि सम्पन्न भएर पनि नगरले थप गरेको समयावधि सम्पन्न भएपछि आफूहरूले कारवाही प्रक्रियाका लागि  सीडीओ कार्यालयसम्म पनि पुर्‍याई सकेको अवस्थामा अन्तिममा आएर सङ्घीय सरकारले नै आफूहरूलाई कुनै जानकारी नै नदिई ६ महिना समय थप गरि दिएको घोडाघोडी  नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोक बहादुर चन्दले बताए । ‘हामीले काम कारवाही प्रक्रियाका लागि फाइल अगाडि बढाइ सकेको अवस्थामा अन्तिममा आएर हामीलाई नै थाहा नदिएर सङ्घीय सरकारले ६ महिना समयावधि थप गरिदियो’, उनले भने, ‘हामी जनताको प्रत्यक्ष सम्पर्कमा हुनाले जनताले पनि हामीलाई नै भन्ने हुन काम गरेन, ठेकेदारलाई कारवाही गरेन भनेर तर हामीले चाहेर पनि त केही पनि नहुँदो रहेछ । आखिर आदेश त केन्द्र सरकारले नै गर्दो रहेछ । हामीले चाहेको जस्तो हुने भए त हामीले त प्रक्रिया धेरै अगाडि बढाइ सकेका थियौँ । तर आदेश माथिबाट आउँछ त हामीले के गर्ने ? उनीहरूले समय किन थप गरिदियो ? मेरो प्रश्न पनि यही निर हो ।’  

हाल पनि सडकमा पहिले हालेको ग्राभेल मात्रै छ । त्यस यता निर्माण कम्पनीले कुनै काम अगाडि बढाउन सकेको छैन् । तर, वडा नं. १ र ८ जोड्ने सुखड-लठुवा सडकमा भने प्राइम समेत हानी सकेको अवस्था छ तर बाँकी कार्य अगाडि नबढ्दा पानीले उक्त प्राइम पनि विस्तारै खराब गरि रहेको अवस्था छ ।

वडा नं. १ र ८ जोड्ने सुखड-लठुवा सडक

निर्माण कम्पनीका सञ्चालक तथा ठेकेदार हुन सिद्ध ओली । हामीले ओलीलाई बारम्बार टेलिफोन मार्फत सम्पर्क गर्न खोज्दा पनि उनले फोन नै उठाएनन् । घोडाघोडी नगरपालिकाका प्राविधिक नवीन मल्लले ठेकेदारले धेरै ठाउँमा ठेक्का लिने र अन्तिममा काम गर्न नसक्दा आफै फसेका कारण काम अलपत्र परेको बताए । 

निर्माण कार्यको लागि सम्झौता गरेर वर्षायाममा आएर अनेक समस्या देखाउने कार्य हाल ठेकेदार ओलीले गरि रहेका छन् । सम्झौता गरेको लामो समय बितिसक्दा समेत कुनै कार्य अगाडि नबढाएका ओलीले हाल भने वर्षा भएका कारण निर्माण कार्य अगाडि बढाउन नसकेको भन्दै गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिई रहेका छन् । ‘यता त एक दुई दिन घाम लागेको छ त्यता के छ अवस्था नत्र काम अगाडि बढाउन हुन्थ्यो ।’ भन्दै केही समय अगाडि ठेकेदारले आफूलाई सम्पर्क गरेको नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष घनश्याम ओझाले बताए । ‘लामो समयसम्म पनि काम गरेन म आफू नै सक्रिय भएर जेठको महिना ठेकेदारका केही सामान त आफ्नै घरमा ल्याएर राखिदिएको थिए’, प्रवक्ता ओझाले भने, ‘हालसम्म काम नगरेर अहिले आएर काम गर्छु भन्दै थियो मौसमले साथ दिएन । सङ्घीय सरकारले थपेको समय पनि साउनमा सकिदै छ । अव काम अगाडि बढाउन सकेन भने हामी आफ्नो तरिकाले प्रक्रिया अगाडि बढाउँछौँ । कालो सूचीमा राख्ने कि के गर्ने त्यो प्रक्रियामा हामी जान्छौं ।’ 

केही समय अगाडि अर्थतन्त्र धराशायी बनेको र जसको प्रत्यक्ष मारमा निर्माण व्यवसायी परेका भन्दै सङ्घीय सरकारले नै ६ महिना जति समय थप गरि दिएको थियो त्यसको फाइदामा ठेकेदार ओली पनि परेका थिए । सोही समयको फाइदा उनले लिइ रहेका छन् । निर्माण व्यावसायीले आफूले ठेक्का लिएका योजना अलपत्र पार्ने घटना यो नौलो भने हैन