दोदोधरा अस्पतालमा सर्प दंशको निःशुल्क उपचार हुने

कैलाली । कैलालीको दोदोधरा अस्पतालमा सर्पदंशको निःशुल्क उपचार गरिने भएको छ । सर्प दंशबाट हुने मानवीय जोखिम न्यूनीकरण गर्न दोदोधरा अस्पतालमा आगामी जेठ २ गतेबाट निःशुल्क उपचार थालिने भएको हो । बर्दगोरिया गाउँपालिकाको वडा नं.१ स्थित दोदोधरा अस्पतालले बुधबार सर्प दंशको उपचारका लागि अनुमति प्राप्त गरेको छ ।

अस्पतालमा बिहीबार सर्पले टोकेको प्रतिविष (एन्टीभेनम) औषधि आइपुग्ने छ । गर्मी र वर्षायाममा सर्पदंशको समस्या बढीजसो देखिन्छ । सर्पको जोखिम हुने तथा टोकिहालेमा समयमै उपचार नपाउँदा ज्यान नै जोखिममा पर्ने समस्यालाई मध्यनजर गर्दै यसको उपचार थालिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।

यसअघि सर्पदंशको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी जानुपर्ने बाध्यता थियो । अब बर्दगोरियामै उपचार हुने भएपछि जिल्लाको लम्कीचुहा, घोडाघोडी, भजनी र गौरीगङ्गा नगरपालिका तथा मोहन्याल र जोशीपुर गाउँपालिकाका नागरिकहले सहजै उपचार सेवा पाउने छन् ।

सर्पदंश उपचारको व्यवस्थापन बर्दगोरिया गाउँपालिकाले गर्ने छ भने औषधि व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्नेछ । सर्पदंशको उपचारका लागि अस्पतालसँग दक्ष र तालिम प्राप्त जनशक्ति पर्याप्त रहेको दोदोधरा अस्पतालका प्रमुख डा. किशोर अधिकारीले जानकारी दिए ।

Share