काठमाण्डौ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले आज थाइल्यान्डको सामना गर्दै छ ।खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा हुने भएको छ । नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।
नेपालले हालसम्म खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो ।
हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्वकपमा पुग्नेछ ।













