युएफा नेसन्स लिगमा गएराती क्रोएसियामा सम्पन्न भएको खेलमा २०१८ काे विश्व विजेता टोली फ्रान्स र उपविजेता क्रोएसिया विचको खेल १/१ गोलको बराबरीमा सकिएको छ ।
दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलका थिए भने दोस्रो हाफ सुरु भए लगत्तै खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रियन राबियोटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । खेलको ५२ औं मिनेटमा विसाम बेन यडरको पासमा एड्रियन राबियोटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवातमा उत्कृष्ट सुरुवात गर्दै अग्रता बनाएको फ्रान्स माथि अन्तिम समयमा आएर क्रोएसियाले केही दवाव बनायो । फ्रान्सका क्लाउसले आन्ड्रेज क्रामरिचलाई बक्स भित्र फल गरेपछि क्रोएसियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै क्रोएसियाका आन्ड्रेज क्रामरिचले खेलको ८३ औं मिनेटमा गोल गरे पछि खेल बराबरीमा रोकिन पुग्यो ।
यस अघिको आफ्नो पहिलो खेलमा फ्रान्स र क्रोएसिया दुबैले हार बेहोरेका थिए । फ्रान्स घरेलु मैदानमा डेनमार्क विरुद्ध २-१ गोल अन्तरले स्तब्ध हुँदा घरेलु मैदानमै क्रोएसियाले अष्ट्रियासँग ३–० गोलको फराकिलो पराजय भोग्नु परेको थियो ।













