काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गते देखि लागू हुने गरि आइतबारको बिदालाई खारेज गर्ने निर्णय गरेको छ । बैठक हप्तामा दुई दिन बिदा दिनु उपयुक्त नभएको निष्कर्षमा निकालिएकाे हो । आइतवारको बिदाले गर्दा सरकारी कामकाजहरू भद्रगोल भएको तथा पेट्रोलियम पदार्थको खपत अपेक्षाअनुसार कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदालाई खारेज गर्ने निर्णय गरेको हो ।
सरकारले वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै जेठ १ गते देखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भन्दै विभिन्न पक्षले आलोचना समेत गरिरहेका थिए । संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याए पनि विभिन्न स्थानीय तहहरूले भने अवज्ञा गर्दै आआफ्नो पालिकामा अलग अलग निर्णय गर्दै आएका थिए ।













