मलेसियामा जारी आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एसिया छनोट खेलमा नेपालले भुटानविरुद्ध ४ विकेटको जित हात पारेको छ । आज भएको खेलमा भुटानले दिएको ६७ रनको झिनो लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सानु राजवंशीले अविजित ३० र सना प्रवीणले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
भुटानका लागि सांगे ए वाङ्मोले सर्वाधिक तीन विकेट लिइन् ।
टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ६६ रन मात्र बनाउन सक्यो । उसका लागि नाङ्वाङ छोडेन र सांगे ए वाङ्मोले सर्वाधिक समान ११ रन बनाए ।
नेपालका लागि कृतिका मरासिनी, मनिषा कुमारी उपाध्याय, अनु कडायतले समान दुई र स्नेहा महराले एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो ।













