काठमाडौं। जेठ १५ गते अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे आर्थिक वर्ष ०७९/८० को संघीय बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटको शीर्षक माथि छलफल थाल्न लागिएको जनाइएको छ ।
संघिय संसद् सचिवालयले छलफल र विभागीय मन्त्रीको जवाफको सम्भावित तालिका तयार पारिसकेको र कार्यव्यवस्था परामर्श समितिले प्राप्त मन्त्रालयगत बजेटको विवरणका आधारमा सम्भावित कार्यतालिकालाई हेरफेर गर्न सक्ने बुझिएको छ ।
सचिवालयको तयारी अनुसार जेठ २५ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयको विनियोजन बजेटको शीर्षकको छलफल सक्ने गरी छलफल भइरहेको जानकारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सञ्चार माध्यमलाइ दिएका छन् ।
सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल हुने जनाइएको छ । यस्तै भूमि व्यवस्था, महिला तथा बालबालिका मन्त्रालय शीर्षकमा पनि सोमबार नै छलफलको कार्यतालिकाको षियमा समेटिएको जानकारी दिइएको छ ।
यस्तै मङ्गलबार कृषि तथा पशुपन्छी, शिक्षा, उद्योग, संस्कृति पर्यटन, भौतिक पूर्वाधार, परराष्ट्र र खोनेपानी मन्त्रालय शीर्षकमा छलफल हुनेछ । जेठ २५ गते अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालय शीर्षकमा छलफल हुनेछ ।
त्यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, योजना आयोगको सचिवालयको बजेटमा जेठ २५ गते नै छलफल हुने जनाइएको छ । जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ । जसमा जेठ २६ गते १२ मन्त्रालय २७ गते बाँकी मन्त्रालय र कार्यालय शीर्षकमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिनेछन। मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रिया अघि भएको छ ।













