हेल्प नेपालको चौथो खेल आज

नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेल आज खेल्दैछ।

चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हेल्प नेपाल भने समान खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ ।

३ मध्ये हेल्प नेपालले २ मा जित र एकमा हार बेहोरेको छ । सुरुवाती २ खेल‌ जितेको हेल्प नेपाल तेस्रो खेलमा कीर्गिस्तानको क्लबसँग ३-२ ले पराजित भएको थियो।

पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको थियो । दोस्रो खेलमा शुक्रवार माल्दिभ्सकै क्लब एचडिसीलाई ३-१ ले‌ हराएको हो ।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

Share