कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका २३ विद्यालयका शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लवको विद्यार्थी सङ्गठन अखिल समाजवादीका विद्यार्थी नेताहरूले जोशीपुरका २३ विद्यालयका ६७ जना शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

महाेन्याल माध्यमिक विद्यालय जोशीपूरमा सम्पन्न कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, अखिल समाजवादी केन्द्रिय कोषाध्यक्ष बबरजंग सिंह, समाजवादीकै सचिवालय सदस्य लोकेश जोशी, जोशीपुर शिक्षा शाखा प्रतिनिधि योगेश जोशी, २३ वटै विद्यालयका प्राधानाध्यापक र शिक्षक प्रतिनिधि, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको अध्ययनमा सहजताका लागि १५ हजार बराबरको कलम र कपी लगायत शैक्षिक सामग्री सहयोग गरिएको अखिल नेता लोकेश जोशीले जनाएका छन् ।












