कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले विद्युतबाट सञ्चालन हुने दुईवटा शव चिस्यान मेसिन सञ्चालनमा ल्याउन ६ लाख ९० हजार रुपैयाँ खर्च गरेको जनाएको छ।
नगर प्रमुख खडक बहादुर रावतका अनुसार, स्वदेश तथा विदेशमा रहेका आफन्तहरूको पर्खाइमा मृतकको शव धेरै दिनसम्म सुरक्षित राख्न नसक्ने समस्यालाई ध्यानमा राख्दै यो सेवा सुरु गरिएको हो। उनका अनुसार, “काम विशेषले घरबाहिर रहेका सदस्यहरू नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्क रुपमा सेवा उपलब्ध गराइएको छ।”
यस अघि विदेशमा रहेका आफन्तहरू समयमा फर्किन नसक्दा आफ्ना प्रियजनको मुख पनि हेर्न नपाउने अवस्थाहरू आउने गर्थे। तर अब शव चिस्यान सेवाको उपलब्धताले यस्तो पीडादायी अवस्था अन्त्य हुने नगर प्रमुख रावतले बताए।
नगरपालिकाले सञ्चालित शव चिस्यान सेवा घोडाघोडी नगर अस्पतालमार्फत २४ घण्टा निःशुल्क रूपमा उपलब्ध गराइने जनाएको छ। यसले मृतकका आफन्तहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
स्थानीयबासीले घोडाघोडी नगरपालिकाको यो कार्यलाई मानवीय दृष्टिकोणमा आधारित उत्कृष्ट पहल भन्दै स्वागत गरेका छन्। यो सेवा सञ्चालनसँगै नगर क्षेत्रभित्रको अन्त्येष्टि व्यवस्थापन प्रणालीमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।












