दैलेखको तेल : चुनावी एजेन्डा बन्ला, कार्यान्वयन त खै!

दैलेख । दैलेखको पैरवी गाउँपालिका-१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार पुस २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखमा पेट्रोलियम भण्डार रहेको कुरा पुष्टि भएको हो।

‘४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यसहित काम सुरू गरिएकोमा पुस २० गते ४ हजार १३ मिटर ड्रिलिङ गर्ने काम सम्पन्न भयो,’ खानी विभागका वरिष्ठ भूगर्भविद गणेशनाथ त्रिपाठीले भने, ‘ड्रिलिङ गर्दा पेट्रोलियम पदार्थ अन्तर्गत प्राकृतिक ग्यासहरू भेटिएको छ। अर्थात् उक्त भूगर्भमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ।’

दैलेखमा लामो समयदेखि पेट्रोलियम खानी रहेको चर्चा हुँदै आएको थियो। तर ठोस अनुसन्धानको काम अगाडि बढेको थिएन। गत वैशाखदेखि भने चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दैलेखको जलजलेमा ड्रिलिङको काम सुरू गरिएको थियो।

नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार ड्रिलिङ कार्य दोस्रो चरणको काम हो। त्यसअघि चीनका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पहिचान गरेको थियो। सोही ठाउँमा गत वैशाखदेखि ड्रिलिङको काम सुरू गरिएको हो।

ड्रिलिङको काम सकिएसँगै अब तेस्रो चरणको काम सुरू हुनेछ। सन् २०१९ मा चीन सरकारसँग सम्झौता हुँदै यो कार्य तीन चरणमा सक्ने सम्झौता भएको थियो।

यसलाई चुनावी भाषणको औजार बनाइने गरिएको छ। “दैलेखको तेल निकालेर नेपाल आत्मनिर्भर बनाउनेछौं” भन्ने आदर्श नाराहरू चुनावी मञ्चहरूमा गुञ्जिए पनि, त्यसको न त विस्तृत योजना सार्वजनिक गरिन्छ, न त दीर्घकालीन रणनीति तय गरिन्छ। यसले जनतामा भ्रम मात्र फैलाएको छ, विश्वास कम भएको छ।

तेल उत्खनन सम्भावनाले स्थानीय विकास, रोजगारी, राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्ने थियो। तर कार्यान्वयनको कमजोरी, प्रशासनिक ढिलासुस्ती र नीतिगत अस्पष्टताले यो सपना अधुरो देखिएको छ।

अबको आवश्यकता भनेको यथार्थमा आधारित योजना निर्माण, सार्वजनिक-निजी साझेदारीको प्रोत्साहन र दीर्घकालीन लगानी सुनिश्चित गर्नु हो। स्थानिय जनताको विश्वास जित्दै, पारदर्शी ढंगमा प्राविधिक परीक्षण तथा उत्खनन प्रक्रिया अघि बढाइनु अत्यावश्यक भइसकेको छ।

यदि दैलेखको तेललाई केवल चुनावी लोभका लागि प्रयोग गरिरहने हो भने, यो स्रोत पनि अन्य धेरै सम्भावनाहरूझैं राजनीतिक व्यापारको सिकार हुनेछ। त्यसैले अब समय आएको छ — स्रोतको सदुपयोग गर्न, नारा होइन, नतिजा दे।