सुनचाँदी एवं हिरा-पत्थरका गरगहनामा लगाइएको विलासिता कर हटाउन माग गर्दै इलाका प्रशासन कार्यालय सुखडलाई ज्ञापनपत्र 

सुखड । घोडाघोडी सुनचाँदी व्यावसायी संघले सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा लगाइएको विलासिता कर हटाउन माग गर्दै इलाका प्रशासन कार्यालय सुखडलाई ज्ञापनपत्र बुझाएको छ । आज इलाका प्रशासन कार्यालय परिसरमा प्लेकार्ड सहित उपस्थित सुनचाँदी व्यावसायी संघ सुखडले नारावाजी गर्दै सरकारले सुनचाँदी तथा हिरा पत्थरका गरगहनामामा लगाएको २ प्रतिशत विलासिता कर हटाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले गत जेठ १५ गते संघिय संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा हिरा-पत्थरका गरगहनामा अघिल्ला आर्थिक वर्षमा दश लाख भन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको २ प्रतिशत विलासिता कर यस वर्ष सिमा नतोकी सम्पूर्ण गरगहनामा लागू गरेको छ । सुनचाँदी व्यावसायीले भने यसो गर्दा भारतीय बजार भन्दा नेपाली बजारमा सुनचाँदी एवं हिरा-पत्थरका गरगहना महँगो पर्ने र अवैध चोरी निकासी बढ्ने भन्दै उक्त निर्णय हटाउन माग राखी प्रदर्शन एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम गरिरहेको छ । साथै आफूहरूको मागलाई वेवास्ता गरे कडा सङ्घर्षका कार्यक्रम तय गर्ने घोडाघोडी सुनचाँदी व्यावसायी संघ सुखडका महासचिव टिकाराम सुनारले बताएका छन् ।