सुरक्षित प्रसुति गराएकी प्रहरी जवान पुरस्कृत

कैलाली । कैलालीमा सुत्केरी व्यथाले सडकमै छट्पटाइएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान पुरस्कृत भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी ती महिलालाई देखेपछि सुरक्षित प्रसुति गराएकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीले सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरी पुरस्कृत गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रुपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको एसपी राणाले बताए ।

देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छट्पटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी २४ वर्षीया चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् । प्रहरी जवान देउवाको सहयोगमा चन्द्राले शिशुलाई जन्म दिएकी थिइन् ।

देउवाले उनलाई सुरक्षित रुपमा पद्मा अस्पताल पुगाएकी थिइन् । चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् । अहिले सामाजिक सञ्जालमा घटनाको भिडिओ पनि भाइरल बनिरहेको छ । स्याहार गरेर सहयोग गरेको भन्दै जवान देउवाको पनि प्रशंसा भइरहेको छ ।