काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ, तीन जनाको नाम सिफारिस भएको थियो,’ उनले भने । आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । राष्ट्र बैङ्कमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।
प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । यो बीचमा गभर्नरको सम्भावित उम्मेदवारहरुमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रुपमा अघि सारेका थिए ।












