पालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेपछि कार्यालय सहयोगी बर्खास्त

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय विरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्ने एक जना कार्यालय सहयोगी बर्खास्तीमा परेका छन् ।

गाउँपालिकाका अध्यक्ष उपाध्यायविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा कार्यालय सहयोगी अशोक थापालाई सेवाबाट बर्खास्त गरिएको हो । अध्यक्ष उपाध्यायविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेकाले थापालाई बर्खास्त गरिएको पालिकाले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

थापाले सामाजिक सञ्जाल (फेसबुक)मा वैशाख २४ गते अध्यक्ष उपाध्यायलाई लक्षित गर्दै अपमानजनक टिप्पणी गरेकाले उनलाई सेवाबाट हटाइएको प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बराल बताएका छन् ।

कार्यालय सहयोगी थापाले सामाजिक सञ्जालमा के लेखेका थिए, भन्ने विषयका बारेमा भने पत्रमा केही उल्लेख गरिएको छैन् ।