हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेजका पूर्व कलेज प्रमुख भण्डारीको निधन

सुखड । शुक्रबार बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा राष्ट्रिय कलेज सुखड कैलालीका पूर्व कलेज प्रमुख कर्ण बहादुर भण्डारीको निधन भएको छ । घर नजिक रुख ढल्दा भण्डारीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

आज बिहान ९ बजे चलेको हावाहुरीका कारण जिल्लाको घोडाघोडी-१, सुन्दर टोलका ५२ वर्षीय भण्डारीको घर नजिकै रहेको सालको रुख ढलेको थियो । उक्त रुख ढल्दा भण्डारीको टाउकोमा गम्भीर चोट लागेको थियो । चोट लाग्नासाथ उपचारका लागि भण्डारीलाई नजिकै रहेको घोडाघोडी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा लगिएको थियो ।

माया मेट्रो अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

Share