सुदूरपश्चिममा को बन्लान् वनमन्त्री, कैलाश कि घनश्याम ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिस गर्न नागरिक उन्मुक्ति पार्टीभित्र फेरि रस्साकस्सी चलेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण मन्त्री पठाउन ढिलाई भएको हो । पार्टीको आन्तरिक गुटगत विभाजनले मन्त्री छान्ने विषयमा सकस भएको छ ।

अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेपनि त्यो निष्प्रभावी भएको छ । प्रदेश सरकारमा उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालयमा मन्त्री टुंगो लगाउन सकेको छैन । महिनौंदिन यता मन्त्रालय मन्त्रीविहीन छ । नागरिक उन्मुक्तिबाटै यसअघि मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले लेनदेनसँग जोडिएको विषयमा अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पार्टीका संस्थापक रेशम चौधरी पक्षले घनश्याम चौधरीलाई मन्त्री बनाउने तयारी छ । यसअघि कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

अध्यक्ष रञ्जिताले हिजो कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्दै सुदूरपश्चिम प्रदेश सरकारसमक्ष औपचारिक पत्र पठाएकी थिइन् । तर, रेशम चौधरी पक्षले उक्त सिफारिसलाई मान्यता नदिँदै घनश्याम चौधरीको नाम अघि सारेको बताइएको छ । घनश्याम चौधरी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् । मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्तिभित्र लामो समयदेखि निर्णय भएको थिएन । धनगढीमा संरक्षक रेशमलाल चौधरीसहित अध्यक्ष श्रेष्ठ र सांसदहरुबीच यस विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

मंगलबार प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गरेका थिए । त्यसको भोलिपल्ट बुधबार मन्त्री बन्ने सासंदको नाम टुङ्गो लगाइएको थियो । यसअघि पनि कैलाश चौधरीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । सिफारिस भएका सांसद चौधरीले प्रदेश संसदीय दलको नेतालाई समेत जानकारी गराई मन्त्रीका लागि आफ्नो नाम अध्यक्षबाट सिफारिस भई मुख्यमन्त्री कार्यालयमा गएको बताएका थिए । तर, रेशम पक्षले भने त्यो निर्णय अन्तिम निर्णय नभएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विगत केही समययता विवाद देखिँदै आएको छ । श्रीमान्, श्रीमतीसमेत रहेका श्रेष्ठ र चौधरीबीच विवाद हुँदा पार्टीसमेत आन्तरिक गुटको सिकार बनेको बताइएको छ ।

Share