विश्व कप क्रिकेट लिग २ मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गर्दै विजयी भएको छ । गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ५० रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९० बलमा ५ चौका र ४ छक्काकाे मद्दतले १०१ रनको शतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए ।
२ सय ५१ रनको विजयी लक्ष्य पाएको हरिकेन्स ४३ ओभर ३ बलमा २ सय २१ रनमा सबै विकेट गुमाएर पराजित भयो । उसका निनाद निम्बाल्कर ९९ रनको पारी खेलेर आउट भए । उनको त्यो पारी पनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङतर्फ नेपालका सोमपाल कामीले सानदार प्रदर्शन गरे । कामीले ८ ओभर ३ बलमा जम्मा ३८ रन दिएर ५ विकेट हात पारे । त्यस्तै सागर ढकालले दुई विकेट लिए ।
पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटले पराजित भएको थियो ।
आईसीसी विश्वकप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुई/दुई वटा शृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग, जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ ।













