सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको आयोजनामा आज अनुसन्धानसँग सम्बन्धित दुई कार्यक्रम सम्पन्न भएका छन् । नगरपालिकाको वडा न. २ मा रहेको तिला कर्णाली बचत तथा ऋण सहकारीको सभाहलमा ‘रिसर्च आउटरिच डिसिमिनेसन अफ एकेडेमीक नलेज इन दि कम्युनिटी’ विषयमा छलफल र ‘सहकारी संस्थाका सेवाहरूको सदस्यहरूको जीवनमा पारेको प्रभावः तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ नामक अनुसन्धान प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितका अध्यक्ष विष्णु प्रसाद सापकोटा, क्याम्पसका प्राध्यापक र तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी एवं सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
यस्तै क्याम्पसले आजै घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा ‘फ्रम लर्निङ टु लिडिङः सेमिनार इन युनिभर्सिटी स्टुडेन्ट्स इम्पावरमेन्ट एन्ड ग्रोथु’ नामक अर्को कार्यक्रम समेत सम्पन्न गरेका छ । विज्ञका रूपमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. रामकुमार फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘सेन्टर फर इकोनमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन(सेडा)’ का कार्यकारी निर्देशक डा. अर्जुन कुमार बराल र अनुसन्धानकर्ता जीवनाथ अधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित विज्ञहरूले सीपमुलक तथा रोजगारमूलक शिक्षा हुन जरूरी भएको भन्दै उपस्थित विद्यार्थीहरूलाई उद्यमि बन्न जोड दिएका थिए । विद्यार्थीले समेत सीप र लगानी अभावमा पढ्दै कमाउदै गर्न नसकिएको र स्थानीय तहले समेत त्यस तर्फ ध्यान नदिएको भन्दै अबको शिक्षा सीपमुलक हुनु पर्ने बताएका थिए । कार्यक्रमा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी एवं स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीको समेत बाक्लो उपस्थिति रहेको थियो ।













