काठमाडौँ । भारतले पाकिस्तानमा हमला गरेको छ । पहलगाम आक्रमणको बदलामा बुधबार बिहान गरिएको हमलामा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर ‘एअर स्ट्राइक’ गरिएको हो ।
भारतकाे जम्मु कस्मिर स्थित पहलगाममा आतंकवादीले एक नेपालीसहित २६ जनाको हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो ।
बुधबार बिहान करिब पौने २ बजेरतिर पाकिस्तान अधिकृत कश्मीरमा ‘एअर स्ट्रइक’ गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रणक गरिएको हो ।
पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ ।
पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए ।
भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाइएको बताएको छ ।












