घोडाघोडीमा चैत १५ देखि प्रथम जिल्ला स्तरीय यू २० वडा अध्यक्ष कप हुने, आज ट्रफी अनावरण

सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा ‘प्रथम जिल्ला स्तरीय अन्डर-२०, वडा अध्यक्ष कप २०८१ हुने भएको छ । ‘हाम्रो गोल लागुऔषध विरुद्दको गोल’ भन्ने मूल नाराका साथ यही चैत १५ गतेदेखि २३ गतेसम्म घोडाघोडी क्लवको खेल मैदानमा प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगिता घोडाघोडी नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा घोडाघोडी क्लबको आयोजनामा हुन लागेको हो । सो प्रतियोगितामा २० वर्ष उमेर समूह खेलाडीले सहभागी हुन पाउने छन् । प्रतियोगितामा जिल्ला भरका १३ टोलीको सहभागिता रहने घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ्गले जानकारी दिए ।

यस क्षेत्रमा फुटबलको चहलपहल बढाउने, खेलाडी उत्पादन गर्ने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरुलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष तामाङ्गले बताए । प्रतियोगिता सञ्चालन हुँदा यस क्षेत्रको आर्थिक, सांस्कृतिक, पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धन हुने अपेक्षा आफूहरुले लिएको तामाङको भनाई थियो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेता टोलीले नगद ३५ हजारसहित ट्रली, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा खेलहरु नक आउटका आधारमा खेलाइने बताएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।