सुखड । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आफ्ना आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तालिका सार्वजनिक गर्यो । सोही अनुसार क्याम्पसहरु तयारीमा जुटे । जसमा ३८ आङ्गिक र ३ सय सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै चैत ५ गते निर्वाचन सम्पन्न भयो । ६२ आंगिकमध्ये २४ ओटामा निर्वाचन नै भएन । जसमा त्रिवि केन्द्रिय क्याम्पस, आरआर क्याम्पस, शङ्करदेव क्याम्पस लगायतका देशभरका क्याम्पसमा उक्त दिन निर्वाचन हुन सकेन । स्थगित स्थानमा पालैपालो निर्वाचन गर्ने त्रिविले जनाएको छ ।
१ हजार ६० कोे सङ्ख्यामा सम्बन्धन प्राप्त क्याम्पसमध्ये ३ सय क्याम्पसमा मात्रै उक्त दिन निर्वाचन सम्पन्न भएको थियो । बाँकी क्याम्पसमा निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको असहमतिका बिच निर्वाचन हुन सकेन । अझै पनि कतिपय क्याम्पसमा निर्वाचन अनिश्चित जस्तै बनेको छ । सम्बन्धन प्राप्त क्याम्पसमध्ये कैलालीको घोडाघोडीमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया कलेजमा पनि चैत ५ गते निर्वाचन हुन सकेन । विद्यार्थी सङ्गठनहरूको असहमतिपछि निर्वाचन स्थगित भएको थियो ।
त्रिविको समय तालिका अनुसार नै घोडाघोडी बहुमुखी क्याम्पसमा पनि सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीको नेतृत्वमा निर्वाचन समिति गठन भयो । उक्त समितिले तालिका अनुसार नै कार्य अगाडि बढायो । फागुन १९ गते दल दर्ताको समय तोक्दै निर्वाचन समिति सक्रिय रुपमा लागि पर्यो । २१ गते समितिले १८ सय ८ जनाको मतदाता नामावली प्रकाश गर्यो । त्यसमा २५ गतेभित्र मतदाता उपर दावी विरोधको समय कायम गरियो । २५ गते अन्तिम दिन नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले केही मतदाता उपर छानविन गरिपाउँ भनी निवेदन पेश गर्यो । जस अनुसार समितिले केही मतदाता उपर छानविन गरि २५ गते साँझ १७ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गर्यो ।
अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन समितिले फागुन २६ गते ११ बजेदेखि मनोनयन पत्र वितरणको कार्यक्रम तय गर्यो । तर, उता नेवि सङ्घले भने अन्तिम नामावलीमै असहमति जनाउँदै छानविनको माग गरि रहेकै थियो । समितिले अन्तिम नामावली हेरफेर गर्न नमिल्ने जवाफ फर्काएपछि सोही दिन नेवि सङ्घले ११ बजे निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्यो र निर्वाचन समितिलाई भन्यो, ‘तालाबन्दीकै बिच मनोनयन पत्र वितरण नगर्नु ।’ तर, निर्वाचन समितिले छलफल विना निष्कर्ष सकिए लगत्तै उक्त दिन नै मनोनयन पत्र वितरण गरिदियो ।

वार्तामा आआफ्नै अडान
तालाबन्दी कै बिच एक सङ्गठनलाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने भन्दै सहमति जुटाउन विद्यार्थी सङ्गठनहरूसँग निर्वाचन समितिले बारम्बार छलफल गरेपनि ति विना निष्कर्ष टुगिंए । ताला लगाएको नेवि सङ्घको मागलाई साथ दिँदै अनेरास्ववियु पनि सोही पक्षमा उभियो । त्यसपछि पनि निर्वाचन समिति अन्तिम नामावलीलाई हेरफेर गर्न नसकिने अडानमा अडिक रह्यो, भने नेवि सङ्घ र अनेरास्ववियु अन्तिम नामावलीमा रहेका स्नातक तह प्रथम वर्षका र स्नातकोत्तर तह प्रथम सेमेष्टरको मितिसहितको विवरण हेर्न पाउनु पर्ने र त्यसमा तलमाथि देखिए सच्याउनु पर्ने अडानमा रहे । उता क्रान्तिकारी अन्तिम नामावलीमा नै चैत ५ गते निर्वाचन गर्नु पर्ने भन्दै अडान राख्न थाल्यो । त्यसपछि पटक पटक बसेका बैठक निष्कर्ष विहिन बने ।
पहिलो निर्णय नै विवादको विउ
क्याम्पसले जैशीको नेतृत्वमा निर्वाचन समिति गठन गरिसकेपछि फागुन १३ गते छलफलका लागि निर्वाचन समितिले विद्यार्थी सङ्गठनलाई बोलायो र छलफल गर्यो । उक्त बैठकले एउटा निणर्य गर्यो, ‘मतदान प्रक्रियामा मतदानको अधिकार क–कसलाई दिने ।’ सोही निर्णय नै अन्तिममा विवादको विउ बन्न पुग्यो । उक्त निर्णयमा उल्लेख गरिएको थियो, ‘मतदानको अधिकार स्नातक तह प्रथम वर्षको हकमा माघ ११ गतेसम्म भर्ना भएका र स्नातकोत्तर तह प्रथम सेमेष्टरको हकमा माघ २५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई दिइने ।’
त्यसो भए विवाद के ?
विद्यार्थी संगठन र निर्वाचन समितिले निर्णय गरेर हस्ताक्षर गरेको उक्त निर्णय नै अन्तिम नामावली प्रकाशन गर्दासम्म विवादमा आयो । माघ ११ र २५ मा भर्ना भएका विद्यार्थीले मतदानको अधिकार पाउने भनिए पनि अन्तिम नामावलीमा त्यो मितिभन्दा पछि भर्ना भएका विद्यार्थीको पनि नाम आएपछि विवाद चुलियो । ताला लगाएर अडानमा बसेको नेवि सङ्घ र अनेरास्ववियुले निर्वाचन समितिलाई घुँडा टेकाएरै छोड्यो । सुरुवातमा भर्ना मितिसहितको विवरण देखाउन सकिदैन भन्दै अडान कसेको समितिले अन्ततः हेर्ने अधिकार दियो । हेरिसकेपछि नेवि सङ्घले आफ्नो शंका सहि रहेको भन्दै झन अडानमा बस्यो । अब नेवि सङ्घ झन कडा रुपमा प्रस्तुत हुन थाल्यो ।
सबै बसेर गरेको निर्णयलाई लत्याएर आफूहरुलाई हराउन लागि परेको आरोप लगाउन समेत पछि परेन । अन्तिम नामावली सच्याउनु पर्ने र चुनाव ५ चैतमा नै गर्नुपर्ने अडानमा नेवि सङ्घ र अनेरास्ववियु रहे भने अन्तिम नामावली प्रकाशन हेरफेर गर्न नसकने अडानमा समिति रह्यो । क्रान्तिकारीले सोही मतदाता नामावलीलाई लिएर निर्वाचन गर्नुपर्ने अडान कस्यो । बार्ता विना निष्कर्ष टुगिंयो ।
कहाँ चुक्यो निर्वाचन समिति ?
पहिलो कुरा त फागुन १३ मा बसेको बैठकले माघ ११ को निर्णय गर्नु नै गलत भएको तर्कपछि आउन थाल्यो । पहिले आफ्नो अडानमा बसेको समितिले अन्तिममा लचकता अपनायो या त सुरुवातमै लचकता अपनाउनु पथ्र्यो । निर्णयले तोकेको मितिभन्दा पछि भर्ना भएका विद्यार्थीहरुको नाम समावेश गर्नु नै निर्वाचन समितिको गल्ति थियो । त्यसपछि गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोज्नु नै निर्वाचन समितिको गल्ति थियो । सबैबाट असफल भईसकेको समितिले अन्ततः फागुन २८ गते मध्यान १२ बजेतिर विषम परिस्थितिमा निर्वाचन गराउन नसकिने भन्दै तत्काल निर्वाचका सम्पूर्ण गतिविधि बन्द गरिएको सूचना सार्वजनिक गर्यो र सम्पूर्ण चुनावी प्रक्रिया स्थगित भयो ।

निर्वाचन स्थगितपछि संगठनहरुविच आरोप प्रत्यारोप
समितिले निर्वाचन स्थगित भएको सूचना सार्वजनिक गर्ना साथ अखिल क्रान्तिकारीले क्याम्पस हाताभित्र आन्दोलन गर्यो । जसमा आवाज मिसिएको थियो, ‘दुई संगठन मिल्दा पनि हार्ने निश्चित भएपछि निर्वाचन भाड्न दुई संगठनले अनेक प्रपञ्च गरे ।’ निर्वाचन तत्काल गराउनु पर्ने माग राख्दै क्रान्तिकारीले प्रशासनमा तालाबन्दी गर्यो । त्यसपछि नेवि सङ्घ र अनेरास्ववियुले पनि आन्दोलन गर्यो । उनीहरुको आरोप थियो, ‘एउटा आमुख सङ्गठनलाई जिताउन सबै मिलेर अनेक प्रपञ्च गरे ।’
त्यसपछि क्याम्पस प्रशासनले फागुन २९ गते एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको र निर्वाचन समिति समेत विगठन गरेको जानकारी गराइयो ।

खड्का नेतृत्वको नयाँ निर्वाचन समिति गठन
हाल आएर क्याम्पस प्रशासनले पूर्व क्याम्पस प्रमुख विनोद कुमार खड्काको नेतृत्वमा चैत ७ गते निर्वाचन समिति गठन गर्यो । त्यसपछि उक्त समितिले चैत २३ गते निर्वाचन गर्ने सहमति जुटायो र फागुन ८ गते विद्यार्थी संगठनसँग छलफल गर्दै सबै सहमति गर्दै निर्वाचन समय तालिका सार्वजनिक गर्यो ।
कसरी कुन विन्दुमा टुगिंयो सहमति ?
नयाँ समिति गठनपश्चात पनि संगठनहरुका आआफ्नै अडान कायम नै रहे । क्रान्तिकारीले हालसम्म भर्ना भएका विद्यार्थीलाई मतदानको अधिकार दिनुपर्ने माग राख्दै गर्दा नेवि सङ्घ र अनेरास्ववियुले पुरानै अडान मा११ र२५ नै भन्दै आयो । अन्ततः निर्वाचन समितिले एउटा विन्दुमा ल्याएर सहमत गरायो । त्यो थियो, ‘स्नातक तह प्रथम वर्षमा चैत ७ गतेसम्म त्रिविमा नाम दर्ता फारम भरिसकेका र जसको सम्पूर्ण कागजात बुझाई सकेको हुनु पर्ने र स्नातकोत्तर तह प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुको हकमा भने माघ २५ गतेसम्म भर्ना भएका तथा स्नातक तह प्रथम वर्षमा भर्ना भएका तर पुरानो रजिष्ट्रेसन नम्बर कायम भएका विद्यार्थीहरुको हकमा भने माघ ११ सम्म भर्ना भएकाले मतदान प्रक्रियामा सहभागी हुन पाउने ।’ उक्त निर्णयलाई सम्पूर्ण विद्यार्थी संगठनले सहमति जनाए र निर्वाचन प्रक्रिया भोलि आईतबार १० गते १० बजेदेखि अगाडि बढ्ने भएको छ ।

यो प्रक्रिया अगाडि बढेसँगै फागुन २६ गते नेपाल विद्यार्थी सङ्घले निर्वाचन समितिको कार्यालयमा गरेको तालाबन्दी पनि आज खोलेको छ ।













