घोडाघोडी बहुमुखी क्याम्पसमा चैत २३ गते स्ववियु निर्वाचन हुने, कार्यतालिका सार्बजनिक

सहमति जुटाउनका लागि विद्यार्थी सङ्गठनसँग छलफल गर्दै निर्वाचन समिति

सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा यही चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।

घोडाघोडीमा त्रिविले तोकेको निर्धारित समय चैत ५ गते निर्वाचन हुन सकेन । उक्त समयमा नेवि संघ र अनेरास्ववियुले मतदाता नामावलीको विषयलाई लिएर असहमति जनाएपछि निर्वाचन समितिले २८ गते निर्वाचन स्थगित गरेको थियो । २९ गते निर्वाचन समितिलाई भङ्ग गरी तत्कालका लागि निर्वाचन स्थगित गरेको सूचना सार्वजिक गरेको थियो ।

त्यसपछि क्याम्पसले पूर्व क्याम्पस प्रमुख विनोद कुमार खड्काको नेतृत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । खड्का नेतृत्वको समितिले आज विद्यार्थी संगठनसंग छलफल गर्दै २३ गते गर्ने निर्णय गर्दै निर्वाचन समय तालिका समेत सार्वजनिक गरेको हो ।

स्नातक तह प्रथम वर्षमा चैत ७ गतेसम्म त्रिविमा नाम दर्ता फारम भरिसकेका र जसको सम्पूर्ण बुझाई सकेको हुनु पर्ने र स्नातकोत्तर तह प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुको हकमा भने माघ २५ गतेसम्म भर्ना भएका तथा स्नातक तह प्रथम वर्षमा भर्ना भएका तर पुरानो रजिष्ट्रेसन नम्बर भएका विद्यार्थीहरुको हकमा भने माघ ११ सम्म भर्ना भएकाले मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय समेत गरेको छ ।

यस्तै समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार चैत १० गते बिहान १० बजेदेखि आफ्ना गतिविधि अगाडि बढाउने छ ।

यो प्रक्रिया अगाडि बढेसँगै फागुन २६ गते नेपाल विद्यार्थी संघले निर्वाचन समितिको कार्यालयमा गरेको तालाबन्दी पनि आज खोलेको छ ।

निर्वाचन समितिको कार्यालयमा लगाएको ताला खोल्दै नेवि संघका प्रतिनिधि
Share