काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकै साथ परीक्षा सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका छन् । गएको वर्षको एसईई परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । गत वर्षभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २ सय ८६ जना बढेका छन् ।
यस वर्षको परीक्षामा जापानको १ परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाडौंको केन्द्रीय कारागार र दैलेखका २ कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यस वर्ष सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । आजदेखि सुरु भएको एसईई १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।












