नेवि सङ्घद्वारा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय भएको छ। सोही अनुसार आईतबार बिहान कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले केही विषयमा असहमति जनाउँदै तालाबन्दी गरेको हो । नेवि संघले त्रिभुवन विश्वविद्यालयले जारी गरेको सूचना अनुसार स्नातक तह प्रथम वर्षको भर्ना माघ ११ र स्नातकोत्तर तहको माघ २५ गतेसम्म भर्ना गर्न परिपत्र जारी गरेको सूचनालाई नै आधिकारिक मान्यता दिनुपर्ने भन्दै ताला लगाएको हो ।

क्याम्पसले उक्त मिति भन्दापछि पनि विद्यार्थी भर्ना गर्दै अन्तिम नामावली प्रकाश गरेको आरोप नेवि संघले लगाएको छ । निर्वाचन समितिले फागुन २१ गते मतदाता नामावली प्रकाश गरेको थियो। जसमा १८ सय ८ जनाको नाम सार्बजनिक गरेको थियो ।

त्यसपछि फागुन २५ गतेसम्म दाबी विरोधको समय तोकिएको थियो । त्यस बीचमा नेवि संघले निवेदन समेत दिएको थियो तत्पश्चात ३५ जनाको नाम हटाउँदै निर्वाचन समितिले निवेदन उपर छानबिन गरी १७ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो । त्यसमा पनि नेवि संघले असहमति जनाएको छ ।

हाल नेवि संघले क्याम्पसले भर्ना गरेका विद्यार्थीको मिति सहितको निवारण माग गरेको छ । तर, निर्वाचन समितिले त्यो उपलब्ध नगराएको जनाएको छ । यता निर्वाचन समितिका संयोजक पुष्पराज जैशीले भने क्याम्पसको सिस्टममा मिति सहितको विवरण नरहेको बताए । संकाय अनुसार मात्रै उपलब्ध गराउन सकिने तर मिति सहित उपलब्ध गराउन नसकिने उनको अडान रहेको छ ।

उता नेवि संघले भने मिति सहितको विवरण उपलब्ध नगराए ताला नखोल्ने बताएको छ ।

नेवि संघले सबै कुरा अन्तिममा सही ठहरिए आफू माफी माग्ने पनि बताएको छ । तर निर्वाचन समितिले सबै विवरण उपलब्ध गराउनु पर्ने नेवि संघको अडान छ ।

निर्वाचन समितिले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको फाराम वितरण गर्ने कार्य तय गरेको छ। भोलि मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

Share