राष्ट्रिय र बुलबुलेमा मंगलबार मनोनयन दर्ता हुँदा घोडाघोडीमा सोमबारदेखि लागेको तालाबन्दी यथावत्

सुखड । आगामी चैत ५ गते देशैभरका क्याम्पस तथा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । सोही अनुरुप त्रिभुवन विश्वविद्यालयले पनि यसअघि नै निर्वाचन गराउनका लागि तालिका सार्वजनिक गरिसकेको छ । अधिकांश क्याम्पस तथा कलेजमा आज मनोनयन दर्ता गरिएको छ । धेरै ठाउँमा उम्मेदवारहरु निर्विरोध निर्वाचित समेत भईसकेका छन् ।

तर, यता कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा भने तालाबन्दी गरिएको छ । केही विषयमा असहमझदारी जनाउँदै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा सोमबार विहान ११ बजे तालाबन्दी गरेको थियो । निर्वाचन समितिले फागुन १९ गतेदेखि आफ्ना कार्यक्रमहरु अगाडि बढाएको थियो । १९ गते संगठन दर्ता गराएको थियो । जसमा छ ओटा संगठन दर्ता भएका थिए । सोही अनुरुप समितिले २१ गते मतदाता नामावली प्रकाशन गर्यो । जसमा १८ सय ८ जनाको नामावली रहेको थियो । त्यसमा २५ गतेसम्म मतदाता उपर दावी विरोध गर्ने समय तोकेको थियो । जसको अन्तिम दिन नेवि संघले केही मतदाता उपर छानविन गरिपाउँ भनि निवेदन पेश गर्यो । त्यसपछि निर्वाचन समितिले छानविन गरि ३५ जनाको नाम हटाउँदै १७ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गर्यो ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दै २६ गते विहान ११ बजेदेखि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय गरेको थियो । तर, उता नेवि संघले भने अन्तिम नामावलीमा समेत आफूलाई संका लागेको भन्दै समितिलाई विद्यार्थीले भर्ना गरेको मितिसहितको नामावली उपलब्ध गराउन माग गर्यो । निर्वाचन समितिले भने त्यो आफूहरुले उपलब्ध गराउन नसक्ने जनायो । त्यसपछि नेवि संघले एक विज्ञप्ति जारी गर्दै २६ गते ११ बजे निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

के हो असन्तुष्टि ? अनि कसरी भयो तालाबन्दी ?

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना माघ ११ गतेसम्म र स्नातकोत्तर तह प्रथम सेमेष्टारको भर्ना माघ २५ गतेसम्मलाई तोकेको थियो । तर, विद्यार्थीहरु क्याम्पसमा ढिला गरि भर्ना भए, हालसम्म पनि भर्ना क्याम्पसमा चलि नै रहेको छ ।निर्वाचन समितिले भने फागुन १३ गते छलफलका लागि संगठनहरुलाई डाक्यो । सोही दिनको बैठकको निर्णयले माघ ११ र २५ गतेपछि भर्ना भएका विद्यार्थीहरुलाई मतदान प्रक्रियामा सामेल नगराउने निर्णय गर्यो । सोही अनुरुप नै निर्वाचन समिति र संघ/संगठनहरु अगाडि बढे । तर, निर्वाचन समितिले फागुन २५ गते अन्तिम नामावली प्रकाशन गर्दा माघ ११ र माघ २५ पछिका विद्यार्थीहरु पनि परेको भन्दै नेवि संघले विरोध जनायो र भर्ना मितिसहितको नामावली माग गर्यो तर त्यो उपलब्ध गराउन नसक्ने र सफ्टवेयरमा सबै विद्यार्थीहरुको एकै पटक मितिसहित हेर्न नमिल्ने जवाफ निर्वाचन संयोजक पुष्पराज जैशीले फर्काए । नेवि संघले भने आफ्नो अडान कायमै राख्दै तालाबन्दी गर्यो ।

त्यसपछि छलफलका लागि समितिले आह्वान गर्यो । त्यो पनि विना निष्कर्ष टुगिंयो । यता निर्वाचन समितिले भने तालाबन्दीकै विचमा मनोनयन पत्र वितरण गर्र्यो । वार्ता प्रक्रियाको वातावरणलाई कायम राख्दै आज विहान ९ बजेसम्म मनोनयन पत्र वितरणको समय तोक्यो । उक्त समयमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन पत्र लियो । बाँकीले लिएनन् । नेवि संघको उक्त मागलाई आत्मसाथ गर्दै एमाले निकट अनेरास्ववियुले पनि मनोनयन पत्र लिएन ।

आज विहान ११ बजे देखि २ बजेसम्म मनोनयन दर्ताको मिति तोकेको भए पनि वार्ताको कुनै निष्कर्ष ननिष्किएपछि मनोनयन दर्ताको समय सार्न समिति बाध्य भयो । त्यसपछि २८ गते दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म कायम रहेको भन्दै सूचना प्रकाशन गर्यो ।

दुबै पक्षका आआफ्नै अडान

नेवि संघले मितिसहितको नामावली माग गरिरह्यो र त्यति नभए ताला नखोल्ने अडान नगर सभापति दिपेश बोहराले राखे । अन्तिममा निर्वाचन समितिले लेखा शाखामा एक जना प्रतिनिधिलाई पठाएर मितिसहित हेर्न अनुमति दियो । त्यसमा हेरिसकेपछि आफूहरुको शंका सहि सावित भएको भन्दै नेवि संघले गल्ति सच्याउन माग गर्यो । तर, समितिले भने मुचुल्का उठाएर सार्वजनिक गरेको मतदाता नामावलीलाई हेरफेर गरी प्रकाशन गर्न नमिल्ने अडान राख्यो । नेवि संघले भने आफ्नो मागलाई हल्का रुपमा नलिन भन्दै चेतावनी समेत दियो ।

आज २ बजेदेखि बसेको बैठकमा पनि दुबै पक्ष आआफ्नै अडानमा अडिक रहे । निर्वाचन समितिले अन्तिम नामावली हेरफेर गर्न नहुने अडान राख्दा नेवि संघले पछि भर्ना भएका विद्यार्थीको नाम अन्तिम नामावलीबाट हटाउनु पर्ने माग राख्यो । तर, निर्वाचन समितिले उक्त मागलाई सम्बोधन गर्न नसकिने बतायो । नेवि संघका नगर सभापति दिपेश बोहराले त्यसो नभए आफूहरुले ताला नखोल्ने अडान कायमै राख्दा आजको बैठक पनि विना निष्कर्ष टुगिंएको छ । फेरि निर्वाचन समितिले भोलि विहान ७ देखि ८ बजेको विचमा सहमतिको प्रयास खोज्ने जनाएको छ । नेवि संघले भने मितिसहितको भर्ना गरेको देखाउनु पर्ने र त्यसमा पछि भर्ना भएका विद्यार्थीको नाम हटाउनु पर्ने अडान कायमै राखेको छ । त्यति गरे सहजै रुपमा ताला खोल्ने र निर्वाचन प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

राष्ट्रिय कलेज र बुलबुले क्याम्पसमा मनोनयन दर्ता

यस्तै घोडाघोडी नगरपालिकामै रहेका राष्ट्रिय कलेज सुखड र बुलबुले बहुमुखी क्याम्पस पहलमानपुरमा भने आज संगठनहरुले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियमा ४ जनाले सभापितमा मनोनयन दर्ता गराएका छन् । सुन्दर गौतमको नेतृत्वमा अखिल क्रान्तिकारीले मनोनयन दर्ता गराउँदा माईकल चौधरीको नेतृत्वमा अखिल (समाजवादी)ले पनि दर्ता गराएको छ । यस्तै नेवि संघले योगेन्द्र न्योपानेको नेतृत्वमा मनोनयन दर्ता कमल खनालले स्वतन्त्र रुपमा सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

यस्तै बुलबलेमा पनि ४ जनाले मनोनयन दर्ता गरेका छन् । अखिल क्रान्तिकारीले विवेक चौधरीको नेतृत्वमा टोली खडा गर्दा नेवि संघले मनोज सार्कीको नेतृत्वमा मनोनयन दर्ता गरेको हो । त्यसैगरी रसिक चौधरीको नेतृत्वमा अनेरास्ववियुले मनोनयन दर्ता गरेको छ भने शेखर सिंह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Share