जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : घोडाघोडी प्रथम हुँदा ७ पालिका स्वर्ण पदक विहीन 

सुखड । कैलालीको घोडाघोडीमा यही फागुन १५ गतेदेखि १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ भयो । जसको आज १८ गते समापन गरिएको छ । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि भने घोडाघोडी नगरपालिकाले नै हात पारेको छ ।

१४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोस्रो भएको  घोडाघोडीले साविक विजेता धनगढी उपमहानगरपालिकालाई पछि पार्दै उपाधि हात पारेको हो । उपाधि विजेता घरेलु टोली घोडाघोडीले २५ स्वर्ण, १४ रजत र २० कांस्यसहित ५९ पदक हात पारेको छ । साविक उपाधि विजेता धनगढी भने यस पटक उपविजेतामा खुम्चिएको छ । उसले २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदकसहित दोस्रो स्थान हात पा¥यो ।

उता गोदावरी नगरपालिकाले भने गत वर्षको स्थान नै यो पटक पनि सुरक्षित ग¥यो । गत वर्ष पनि तेस्रो स्थानमा रहेको उसले यस पटक १२ स्वर्ण, १५ रजत र १२ कांस्यसहित ३९ पदकका साथ सोही स्थानमा रहन सफल रह्यौ । यस्तै, गौरीगङ्गा नगरपालिका २९ पदकसहित चौथो स्थान हात पार्न सफल रह्यो । उसले ३ स्वर्ण, ८ रजत र १८ कांस्य हात पा¥यो । लम्की चुहा नगरपालिकाले २ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १३ पदकका साथ पाँचौँ स्थानमा रहन सफल रह्यो ।

यता ७ ओटा स्थानीय तह भने स्वर्ण पदकविहीन बनेका छन् । जसमा टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, चुरे गाउँपालिका, बर्दगोरिया गाउँपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका रहेका छन् । यसका साथै चुरे, बर्दगोरिया, भजनी र कैलारी गाउँपालिकाले स्वर्ण पदक समेत हात पार्न सकेनन् ।

कैलारी गाउँपालिकाले प्रतियोगितामा कुनै पनि पदक हान पार्न सकेन । शून्य पदकका साथ उ तालिकाको पुछारमा रह्यो । १३ स्थानीय तह रहेको कैलाली जिल्लामा जोशीपुर गाउँपालिका भने प्रतियोगितामै सहभागी भएन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय र वडा नं.१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएका थिए ।

विगतका वर्षहरुमा सधैँ धनगढी केन्द्रित हुने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस पटक भने घोडाघोडीमा भएको हो । धनगढी बाहिर हालसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको थिएन ।