कैलाली । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार सम्पन्न खेलमा अफगानिस्तानसँग पराजित बनेको इङ्ग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तानको लाहोरमा भएको खेलमा इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले भने अर्को चरणको यात्रालाई कायमै राखेको छ ।
समूह चरणमा लगातार दोस्रो हारसँगै इङ्ग्ल्यान्ड एक खेलअगावै सेमिफाइनल दौडबाट बाहिरिएको हो।
अफगानिस्तानले दिएको ३ सय २६ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड निर्धारित ओभरको १ बल अगावै ३ सय १७ रनमै समेटिन पुग्यो । उसका लागि जो रुटले १ सय २० रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । १ सय ११ बलको सामना गरेका रुटले ११ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान जोस बटलर र बेल डुकेटले समान ३८ रन बनाउँदा जेमी ओभर्टनले ३२ तथा हृयारी ब्रुकले २५ रनको योगदान गर्न बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
अफगानिस्थानलाई जित दिलाउन अज्मतुल्लाह ओमरजाइ एक्लैले ५ विकेट हात पारे । ९.५ ओभरमा बलिङ गरेका उनले ५८ रन खर्चेका थिए । यस्तै मोहम्मद नावीले २ तथा फजलहक फारुकी, रासिद खान र गुलाबदिन नैवले समान एक विकेट लिए ।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २५ रनको विशाल योगफल तयार पारेको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जड्रानले सर्वाधिक १ सय ७७ रनको विशाल पारी खेले । १ सय ४६ बलमा १२ चौका र ६ छक्का प्रहार गरे ।
अज्मतुल्लाह ओमरजाइले ४१ तथा मोहम्मद नावी र हसमतुल्लाह साहिदीले समान ४० रन थपे ।
च्याम्पियन्स ट्रफीमा आज समूह ‘ए’ का पाकिस्तान र बंगालदेश भिड्ने छन् । एक खेलअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका यी दुई टोली सान्त्वना जितको खोजीमा छन् ।












