कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता घोडाघोडीमा सुरु

सुखड । कैलालीको घोडाघोडीमा बिहीबारदेखि १५औं जिल्ला स्तरीय राष्ट्रपति इनिङ्ग शिल्ड प्रतियोगिताको शुभारम्भ भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको कान्तिराज्य लक्ष्मी माध्यामिक विद्यालयमा सुरु भएको हो ।

आज एक औपचारिक कार्यक्रमका बिच प्रतियोगिताको उद्‌घाटन गरिएको छ । कार्यक्रमको उद्‌घाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले उद्‌घाटन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ वटा पालिकाका १ हजारभन्दा बढी खेलाडीहरू सहभागी भएका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । प्रतियोगिताका विजेता, उपविजेता पालिकालाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीहरूले प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

खेलहरु कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालय पहलमानपुर र राष्ट्रिय माध्यामिक विद्यालय सुखडको खेल मैदानमा हुने छन् । प्रत्येक वर्ष धनगढीमा हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति इनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष कैलालीको घोडाघोडी नगरपालिका भित्रमा भएको हो ।

उद्‌घाटन समारोहमा खेलकुद क्षेत्रमा योगदान दिने संस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सह-आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्‌घाटन समारोहको अध्यक्षता कैलाली जिल्ला अध्यक्ष ललित खत्रीले गरेका थिए । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरु, राजनीतिक दलका प्रमुख लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।