१३औँ उपाधि भिडन्तमा पनि उपविजेतामै सिमित बन्यो नेपाल

तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

कैलाली । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले हात पारेको छ । उपाधि भिडन्तमा घरेलु टोली नेपाललाई २-० गोल अन्तरले पाखा लगाउँदै म्यानमारले उपाधि चुमेको हो ।

यता घरेलु टोली नेपालले भने १३औं उपाधि भिडन्तमा पनि पराजय भोगेको छ । १२औं उपाधि भिडन्तसम्ममा पनि उपविजेतामै सिमित बनेको उपाधिको भोको टोली नेपाल १३औं पटक पनि उपविजेतामै सिमित बन्न पुग्यो । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५ सय ६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गर्न सफल रह्यो । पहिलो हाफ भने गोल रहित वबराबरीमा सकिएको थियो ।

खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिएन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टोलीकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले फेरी अग्रता दोब्बर बनायो ।

६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।

यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो ।

त्यसअघि खेलको २४औँ मिनेटमा नेपाली खेलाडी विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारिन् । गोलकिपर एन्जिलासमेत बिट भएर पोस्ट खाली हुँदा म्यानमारकी सान थ्व थ्वले गरेको प्रहारलाई विमलाले शरीरले रोक्न सफल रहिन् ।

३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । रेखाले पेनाल्टी बक्स बाहिरबाट निकालेको बलमा सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले उत्कृष्ट बचाउ गरिन् ।

खेलको ४४औँ मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता अर्को सुनौलो अवसर खेर फाल्यो ।

यसअघि यी दुई टोलीबीच लिग चरणमा भएको खेल २-२ को बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।