१२औँ पटकसम्म फाइनलमा पराजित उपाधिको भोको टोली नेपाल आज म्यानमारसँग खेल्दै, जित्ला पहिलो उपाधि ?

कैलाली । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बुधबार (आज) घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि होडमा बलियो प्रतिद्धन्द्धी म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै गर्ने भएको छ । नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय खेलयता खेल्न लागेको यो १३औँ उपाधि भिडन्त हो । यसअघि नेपालले १२औं उपाधि भिडन्तमा भिडिसकेको भए पनि हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन् ।

“जसले मैदानमा बढी मेहनत गर्छ, अनुशासित भएर खेल्छ, एक टिमको रूपमा प्रतिस्पर्धा गर्छ, त्यही टिमले उपाधि जित्ने हो । हामी आफ्नोतर्फ शतप्रतिशत दिनेछौँ,” उपाधि भिडन्तको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भनिन्, “टिमलाई नै उपाधि जित्नुपर्छ भन्ने भोक छ । प्रशिक्षकको रणनीतिअनुसार अन्तिमसम्म खेल्न सक्यौँ भने नतिजा राम्रो हुन्छ ।”

यस्तो छ १२ पटकको फाइनल यात्रा

नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यस यता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको भने छैन् । पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३८ वर्षमा कुल १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता मै सिमित बन्यो ।

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप र एक पटक वाफ महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । १२ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेशसँग दुईपटक हार बेहोर्दा म्यानमार, ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।

सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३-१ को हार बेहो¥यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १-० ले पराजित भयो ।

त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३-१ र ६-० को हार बेहो¥यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहो¥यो ।

सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३-१ को हार बेहो¥यो ।

यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३-१ को नै हार बेहो¥यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३-२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भयो ।

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहो¥यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १-० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो । यस्तै, घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनल १२औँ थियो ।

के छ प्रशिक्षकको प्रतिक्रिया

नेपाली टोलीले खेलेको १२ फाइनलमा प्रतिस्पर्धा गर्दा प्रशिक्षक थिए, राजेन्द्र तामाङ । गएको वर्षका फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपको निम्ति मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका तामाङ हालसम्म नेपाली टोलीमा निरन्तर छन् । उनको प्रशिक्षणमा नेपाली टोलीले वाफ र साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रतिस्पर्धा गरे पनि दुवैमा पराजय बेहोरेको थियो । एक वर्षमा दुई फाइनल खेलमा बेहोरेको हारबाट निराश तामाङले मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टोलीसँग उपाधि जित्नुको विकल्प नभएको बताए ।

“हामीलाई उपाधि जित्नुको कुनै विकल्प छैन् । धेरै पटक उपाधि निजक पुगेर पनि निराश हुनु परेको छ । जसरी पनि ट्रफी जित्नु पर्छ भावनाका साथ मैदान उत्रिने छौँ,” प्रशिक्षक तामाङले भने, “हामीलाई घरेलु मैदानमा फेरि एकपटक मौका आएको छ । यस पटक भने चुक्नु हुँदैन् । म्यानमार बलियो टोली हो । तर, जित्न सक्छौँ भन्ने विश्वास छ ।”

Share