कैलाली । च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो ।
न्युजिल्याण्डसँगै समूह ‘ए’ बाट भारत पनि सेमिफाइनलमा पुगेको छ । अब समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबीच हुनेछ । बङ्गलादेश र पाकिस्तान अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
सोमबारको खेलमा बङ्गलादेशले दिएको २ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
उसको जितमा रचिन रविन्द्रले सर्वाधिक १ सय १२ रनको शतकीय पारी खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । यस्तै विकेट किपर टम लाथमले ५५ रनको अर्धशतकीय पारी खेल्दा डेभन कन्वेले ३० रनको योगदान गरे ।
बलिङतर्फ बङ्गलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रनको आँकडा बनाएको थियो ।
बङ्गलादेशका लागि कप्तान नजमुल हसन शान्टोले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेल्दा जाकर अलिले ४५ तथा तान्जित हसनले २४ रनको योगदान गरेका थिए । बाँकी व्याटरले गतिलो प्रदर्शन गर्न सकेन् ।
न्युजिल्याण्डका माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट हात पारेका थिए ।
जितसँगै न्युजिल्याण्ड २ खेलमा अपराजित रहँदै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । बङ्गलादेश दुई खेलमा अङ्कविहिन बनेको छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।












