कैलाली । सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षको ६ महिनामा वन क्षेत्रबाट ६ करोड ८४ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ६ महिनामा वन क्षेत्रबाट मात्र ६ करोड ८४ लाख ३१ हजार ५ सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा सामुदायिक वनबाट २ लाख ७० हजार ४ सय ८४ घनफुट काठ निकासी गरेको छ । निजी वनबाट ९८ हजार ७ सय ७१ घनफुट र सरकारी व्यवस्थित वनबाट २१ लाख ७ सय ७७ घनफुट काठ गरेर ३ लाख ९१ हजार ३३ घनफुट काठ निकासी गरिएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ८ लाख १३ हजार ५ सय ७५ किलोग्राम जडीबुटी निकासी गरेको छ । विभिन्न प्रजातिका जडीबुटीहरू निकासी गरिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका ६ महिनामा ५ लाख २५ हजार ७ सय ५४ किलोग्राम खोटो निकासी गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ८४ लाख ३१ हजार ५ सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा ६ महिनासम्म ३ करोड २२ लाख ७१ हजार ८ सय ९६ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ ।












