कैलाली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष ७ प्रदेशहरूमध्ये उत्कृष्ट बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थानमा परेको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो ।
अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यस पटक दोस्रो भएको छ । ५०.९ अङ्क प्राप्त गर्दै दोस्रो बनेको हो । यस्तै, ४५.६ अङ्क पाएको बागमती तेस्रो, ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ र ३० अङ्क पाएको मधेश पुछार रहेको छ ।
यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट बनेको छ । अमरगढी नगरपालिकाले ८१.७ प्राप्त गरेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन् ।
इलामको सूर्योदय नगरपालिकाले ८०.२ अङ्क ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८०.१, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अङ्क ल्याएको छ ।
यस्तै महानगरपालिकातर्फ भरतपुर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । भरतपुरले ७६.२ अङ्क प्राप्त गर्दा दोश्रोमा विराटनगर महानगरपालिका ७३.५, तेस्रोमा ललितपुर महानगरपालिका ६६.७, चौथोमा काठमाडौं महानगरपालिका ५४.३, पाँचौंमा पोखरा महानगरपालिका ५१.५ र छैटौंमा विरगञ्ज महानगरपालिकाले ४३.१ अङ्क ल्याएका छन् ।
स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, सङ्कलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।













