झाँगिदै विकास, रित्तिदै गाउँ घर

बसाइँ सराइले अँध्यारा बन्दै गएका गाउँ घरहरु सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिने क्रम भने अझै रोकिएको छन् ।

वर्षौँदेखि ओझेलमा परेका गाउँबस्तीमा हाल आएर विकास पुगेको छ । घर आँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

‘गाउँ गाउँजस्तो छैन्
सहर सहरजस्तो छैन्
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन् ।’

कवि हेम हमालको कवितामा भनिएझैँ तीव्र रूपमा भइरहेको बसाइँ सराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका म्याग्दी रघुुगङ्गा गाउँपालिका-६ ठाडाखानीका टेकबहादुर छन्त्याल बताउँछन् ।

हेर्दै रहर लाग्दो म्याग्दीको मालिका गाउँपालिका-२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँ सराइका कारण एक्लिँदै जान थालेको छ । ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन्,’ छन्त्यालले भने, ‘विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जाने क्रम भने झन् बढ्दै जान थालेका छन् ।’

ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइँ सराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँ सराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइँ सराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताउँछन् ।

आठ/दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका-२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसै गरी १ सय ७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्की बताउँछन् ।

गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ । गाउँमा साह्रो गाह्रो र आपत् विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका-२ का केदार जैसीले बताए ।

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठुला सहर र जिल्ला बाहिर बसाइँ सराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार वि.सं. २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।

वि.सं. २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार ६ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७ हजार ३ सय ७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ ।-रासस

Share