अर्जुन ट्रफी : उपाधि भिडन्तमा अत्तरियाद्वारा डडेल्धुरालाई मध्यम रनको लक्ष्य

कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त खेलमा सीवाईसी अत्तरियाले फ्रेन्डस् युथ क्लब डडेल्धुरासामु १ सय १९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको आँकडा मात्रै तयार गर्न सक्यो ।

उसका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाउँदा कप्तान सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए ।

बलिङतर्फ डडेलधुराका अभिषेक गौतमले ४ विकेट हात पार्दा कुशल भुर्तेल र अजय चौहानले समान १ विकेट लिए ।

अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै उपाधि भिडन्तको खेल पक्का गरेका थिए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Share