कैलालीका फरक फरक ठाउँमा दुई किशोरी बलात्कृत, दुई जना पक्राऊ पर्दा एक जना फरार 

कैलाली । कैलालीको बर्दगोरिया र धनगढीमा दुई जना किशोरी बलात्कृत भएकी छन् । बर्दगोरियामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर (नाम सार्वजनिक नगरिएको) रहेका छन् ।

बर्दगोरिया गाउँपालिका-२ की १३ वर्षीया किशोरीमाथि शनिबार बेलुका उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ । जिल्लाकै मोहन्याल गाउँपालिका घर भएकी ती बालिका बर्दगोरियामा डेरा गरी बस्दै आएकी प्रहरीले जनाएको छ । उनी कक्षा ४ मा अध्ययनरत छिन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिबार बेलुका मासु पकाएर ल्याइदिन भनेका थिए ।

पकाएको मासु पुर्याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइ-फकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप उनीहरूमाथि लागेको छ । आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

आइतबार पीडित बालिकाकी दिदीले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी कैलालीको धनगढीमा पनि गएको बिहीबार १४ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार विद्यालयबाट फर्किरहेकी ती किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको आरोपमा उनीमाथि उजुरी परेको छ।

विद्यालयबाट फर्किँदा बाटो छेकेर ती युवकले चक्कु देखाएर डर त्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ।

आरोपी भने अझै पनि पक्राउ परेका छैनन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी बोहराले जानकारी दिएका छन् ।