अर्जुन ट्रफीको उपाधि सीवाईसी अत्तरियालाई, फाइनलमा डडेल्धुरा ३४ रनले पराजित

कैलाली । कैलालीको धनगढीमा आज सम्पन्न भएको अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सीवाईसी अत्तरियाले हात पारेको छ । आज भएको उपाधि भिडन्तमा फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ३४ रनले पाखा लगाउँदै अत्तरियाले उपाधि चुमेको हो ।

उपाधि भिडन्त खेलमा अत्तरियाले दिएको १ सय १९ रनको मध्यम लक्ष्य समेत पूरा गर्न नसकेपछि डडेलधुरा प्रथम संस्करणको अर्जुन ट्रफीको उपाधि उचाल्नबाट वञ्चित भएको हो । डडेल्धुराले १८ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका लागि गजेन्द्र बोहराले २४ तथा कुशल भुर्तेलले २० रन जोड्दा बाँकी ब्याटरले गतिलो प्रदर्शन गर्न नसकेपछि पराजय बेहोर्न बाध्य भयो ।

बलिङतर्फ अत्तरियाका साहब आलमले किफायती बलिङ गरे । उनले ४ ओभरमा एक मेडन राख्दै मात्र ८ रन खर्चेर ३ विकेट हात पारे । यस्तै दिपेश कँडेलले ३ तथा विवेक यादव र कमल गुप्ताले २ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको आँकडा मात्रै तयार गरेको थियो ।

उसका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाउँदा कप्तान सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए ।

बलिङतर्फ डडेलधुराका अभिषेक गौतमले ४ विकेट हात पार्दा कुशल भुर्तेल र अजय चौहानले समान १ विकेट लिए ।

अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै उपाधि भिडन्तको खेल पक्का गरेका थिए ।

प्रतियोगिताको विजेता अत्तरियाले नगद १० लाखसहित ट्रफी गत पार्दा उपविजेतामै सीमित बनेको डडेल्धुराले ५ लाखमा चित्त बुझाएको छ ।