खैरो हेरोइनसहित कैलालीबाट पाँच प्रहरीको नियन्त्रणमा

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयले खैरो हेरोइनसहित विभिन्न ठाउँबाट पाँच जना पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका-१३ का २४ वर्षीय शंकर राना ४ ग्राम ८ सय ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा कपडा पसल सञ्चालन गर्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका छन् । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६ सय ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन, मोटरसाईकल र उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने ३५ वर्षीय राज कुमार रानाको साथबाट ९० मिलिग्राम र धनगढी उपमहानगरपालिका-८ बस्ने ४२ वर्षीय भक्त रानाको साथबाट २ ग्राम २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको हो ।

धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष राना पक्राउ परेका छन् । रानालाई १ सय २० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Share