प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीलाई

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडी जिल्लाले हात पारेको छ । बिहीवार भएको उपाधि भिडन्त खेलमा कञ्चनपुरलाई ६ विकेटले पाखा लगाउँदै बैतडीले उपाधि चुमेको हो ।

उपाधि भिडन्तमा जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । कञ्चनपुरले दिएको ७२ रनको लक्ष्य बैतडीले १२ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा अविजित रहिन् ।

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कञ्चनपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै जोड्न सफल भयो । उसका लागि रेवती धामीले सर्वाधिक ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न नसकेपछि विशाल योगफल बनाउनबाट चुक्यो ।

बलिङतर्फ बैतडीका लागि जानकी थापाले २ विकेट लिइन् । जानकी उपाधि भिडन्त खेलमा ओम्यान अफ द फाइनलसमेत चुनिइन् । यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् ।

कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बनिन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका सात टोलीको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा आयोजना हुँदैछ ।