काठमाडौं । कैलालीको टीकापुरमा जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारी र जग्गाधनी गरी ८७ जनालाई दोषी ठहर गरेको छ । अदालतले ११ जना पदाधिकारी तथा कर्मचारी र ७६ जना जग्गाधनीलाई दोषी ठहर गरी सजाय सुनाएको हो ।
विशेष अदालतले टीकापुर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी र संयोजक गणेश सिंह रावललाई मुख्य दोषी ठहर गरेको छ । उनीहरूले बदनियतपूर्वक किर्ते प्रमाण राखेर आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखिला गर्न सिफारिस गरेको अदालतको ठहर छ । जोशी र रावललाई १ वर्ष ६ महिना कैद र जनही १३ लाख ७ हजार ३ सय रूपैयाँ जरीवानाको सजाय सुनाइएको छ ।
यस्तै समितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई ३ महिना कैद र १३ लाख ७ हजार ३ सय रूपैयाँ दामासाहीले जरीवाना ठहर गरिएको छ । अरुको हकमा ३ महिना कैद र जग्गा अनुसारको जरिवाना तोकेको छ ।
जग्गा पनि जफत गरी समितिकै कायम हुने ठहर विशेष अदालतले गरिदिएको छ । टीकापुर विकास समितिको नामबाट नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघमा मुद्दा दायर गरेको थियो ।













